• Saturday 25th of July 2026

पालोपर्मले धान रोपाइँ सहज बनाइँदै


  • गोकर्णेश्वर अनलाइन

वरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर किसान विरक्तिएका बेला महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान भने सघन रोपाइँमा लागेका छन् । वरपर अन्य बस्तीमा जन (कृषि काम गर्ने श्रमिक) नपाएर किसान छटपटिएका बेला यहाँका २५ घर किसान भने एक–अर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन् । टोललाई भनिँदा बभनटोली (बाहुनटोल) भनिए पनि यहाँ ब्राह्मण, क्षेत्री, नेवार, थारू, घर्ती, कोइरी, विन (मलाह), चमार, कामी र हिन्दूबाहेकका इस्लाम धर्मावलम्बी पनि छन् । मध्य असारमा खेत टन्न भरिने गरी पानी परेपछि यो बस्तीका किसानको व्यस्तता निकै बढेको छ । खेत हिल्याउने, छेउकुना खन्ने, गह्रा सम्याउने, बीउ उखेल्नेदेखि रोप्नेसम्मको काममा एउटाको काम सकेर अर्कोको शुरु गर्ने यहाँका किसानले थिति (चलन) बसालेका छन् ।

जात, भाषा, धर्म र धनी गरिबको कुनै विभेद नगरी सबैको खेतमा सबै काममा पुग्ने थितिले आपूmहरुको धान रोपाइँमा जनशक्तिको कमी महसुस नहुने गरेको यस टोलका बासिन्दा बताउँछन् । “हाम्रो टोलमा बाहुन, क्षेत्री, नेवार, घर्ती र कामीसहितका पर्वते मूलका र कोइरी, बिन (मलाहा) र केही घर मुसलमान समुदायका सहित मधेसी मूलका छन्”, सो बस्तीकी सामाजिक कार्यकर्ता दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “पानीले साथ दिँदा सबैले मिलेर काम गर्न थालेपछि असार निगल्दो हाम्रो शाही (मूल बीउ रोप्ने) रोपाइँ सकिने गरेको छ ।” विगतका केही वर्ष जन नपाएर खेत बाँझै बसेपछि टोलका सबैलाई भेला गरेर यो थिति बसालेपछि रोपाइँ सक्न कहिल्यै गाह्रो नपरेको दीपमायासहितका यस टोलका किसान बताउँछन् ।

“खेतीका कुरामा यहाँ कोही धनी, गरिब र उचोनिचो भन्ने हुन्न, सबैको काममा टोलका सबै जान्छौँ”, सो बस्तीकै आफ्नो जग्गा नभए पनि बटैया खेती गर्ने असवा थारू भन्नुहुन्छ, “रोपाइँ सकेपछि कामको हिसाब गरेर बढी काम गरेको पारिश्रमिक लिइन्छ, यसो गर्दा बढी जग्गा हुनेले रोपाइँ सकेपछि पर्म बढीको पारिश्रमिक दिने गर्छन ।” टोलको यो थितिले अन्य आपत्विपत्का बेला पनि आपसी सहयोग आदानप्रदान प्रगाढ बनाएको यहाँका बासिन्दाको अनुभव छ । “बस्तीका २५ घरबाट जसको रोपाइँको पालो हो, सबै गुरुरु जान्छौँ”, बस्तीकी विन समुदायकी कञ्चनीयाँ विन भन्नुहुन्छ, “हाम्रो बस्तीमा रोपाइँ काम सक्नसँगै रमाइलो पनि बन्छ ।”

बीउ रोप सकिएपछि साउन १५ देखि खरुवन (कलम, पहिले रोपिएको रोपो गाँजिएपछि त्यो उखेलेर रोप्ने काम) रोप शुरु हुन्छ । सबैको रोपाइँ सकिएपछि जन जोडेर हिसाब गर्ने यहाँका बासिन्दाले थिति बसालेका छन् । “पानी लाग्नासाथ कामको धपेडी त हुन्छ”, बस्तीकी मुस्लिम समुदायकी ऐसा खातुन भन्नुहुन्छ, “तर हामी अरुको भन्दा सजिलै रोपाइँ सक्छौँ ।” यो बस्तीमा दुई बिघादेखि दुई कठ्ठासम्म जग्गा भएका किसान छन् । थोरै जग्गा हुनेले थपमा बटैया खेती गर्ने गरेका छन् । रोपाइँ सकेपछि पर्मको हिसाब गरेर बढी श्रम गरेका परिवारका सदस्यलाई चलेको पारिश्रमिक दिने गरिएकाले किचलो कहिल्यै नभएको बस्तीका पाका किसान ८० वर्षीय रामनन्दन महतो बताउनुहुन्छ । बस्तीका २५ घरको स्वामित्वमा करिब १६÷१७ बिघा धानखेती गरिने जग्गा भएको र पछिल्ला पाँच वर्षयता रोपाइँमा पर्म चलाउन थालेपछि कहिल्यै खेत बाँझो नरहेको त्यहाँका किसान सगर्व बताउँछन् ।

“हाम्रो टोलका प्रधानजी (भङ्गाहा गाविस छँदा उपाध्यक्ष रहेका मुकुन्द दाहाललाई टोलवासी प्रधानजीले सम्बोधन गर्ने गर्छन्) र भाउजु (दाहालकी पत्नी) पनि हाम्रो खेतमा बीउ उखेल्न र धान रोप्न आउनुहुन्छ”, बस्तीका ४० वर्षीय किसान गणेश विश्वकर्मा भन्नुहुन्छ, “काममा धनी–गरिब उचोनिचो हुँदैन, हामी खेतीपाती समयमै सक्छौँ ।” समुच्चा रामनगर बस्तीमा अहिले रोपाइँको सुरसारमात्र देखिएका बेला यो टोलमा भने पछिल्ला तीन दिनमै १५ प्रतिशत रोपाइँ सकिएको छ । टोलवासीले बसाएका यो थिति सबैले अनुसरण गरे सबैका लागि खेती सजिलो हुने भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो बताउनुहुन्छ । “अन्य टोलमा किसान जन पाइएन भनेर जिङ्राएका छन्, आपूmलाई धनीमानी गन्ने किसान अरुका खेतमा पाइला राख्नुलाई इज्जतको सवाल ठान्छन्”, महतोले अगाडि प्रश्नात्मक शैलीमा भन्नुभयो, “अनि कसरी चल्छ काम ?” मिलेर काम गर्दा सजिलै धान रोपाइँ सकिने र उत्पादन पनि राम्रो लिने आफ्नो बस्तीको बभनटोली सबैका लागि सकारात्मक उदाहरण बनेको वडाध्यक्ष महतोको थप भनाइ छ ।

खासगरी कृषि काममा दक्ष मानिएका बस्तीका मुसहर जातिका युवा राम्रो पारिश्रमिक पाउने आसमा भारतको पञ्जाव, हरियाणा जान थालेपछि बस्तीमा धान रोपाइँका बेला जनको सकस पर्दै आएको छ । बभनटोलीका किसानले समयानुकूल आफुलाई ढाल्न सक्दा बर्सेनि राम्रो उत्पादन लिइरहेको कुराबाट शिक्षा लिन नसक्दा बस्तीकै अन्य टोलको रोपाइँ गर्न नसकिएर खेत बाँझै बस्ने गरेको रामनगरमा कहलिएका मेहेनती किसान सत्यनारायण यादव बताउनुहुन्छ । “अब लाज मानेर काज चल्दैन”, यादवले भन्नुभयो, “बभनटोलीको अनुसरण गर्नैपर्छ ।” समयअनुसार नयाँ थिति बसाउन सकिएकाले आफ्नो टोलमा गरिबमा गनिनेको घरमा पनि खाने अन्न भने खासै बेसाउनु नपरेको अगुवा महिला सामाजिक कार्यकर्ता हीरा दाहालको भनाइ छ ।

“हाम्रो टोलमा सबैको श्रम सबैलाई चलेको छ”, दाहालले भन्नुभयो, “केही पाका उमेरका अभिभावकमा खानेकुरामा अझै छुवाछूतको भावना भने मरिसकेको छैन, तर नयाँ पुस्ताका सबै एकअर्काको खेतमा काम गर्दा खाजा, खानासँगै खान थालेपछि यसको टिप्पणी भने पाकाले गर्न छाडेका छन् ।” आफ्नो रोपाइँको सुरसार नहुँदै बभनटोलीमा भने रोपाइँ सघन चलेपछि आफ्नो टोलमा पनि पर्म शुरु गर्ने रामनगरका सबै टोलमा चर्चा भने बाक्लिएको छ । “हामी पनि यो थिति (पर्म) बसाउन खोज्दैछौँ”, बस्तीका पूर्व वडाध्यक्ष ७० वर्षीय वृदेवसिंह दनुवारले भन्नुभयो, “अब यसमा ढिलो गरिए मुखमा माड लाग्दैन ।”

बभनटोलीका सबैजसो किसान खेतीपातीबारे सघन संवादमा रहने गरेका वडाध्यक्ष महतो बताउनुहुन्छ । “सिँचाइ, कृषि सडक र समयमा मलबीउको व्यवस्था गर्न टोलवासीले सधैँ घच्घच्याउने गर्छन्”, महतोले भन्नुभयो, “खेतीपातीबारे आपसी परामर्श गर्ने, निरन्तर अनुगमनका लागि घच्घच्याइरहने र भनेअनुसार तत्काल त्यसलाई अनुसरण गरिहाल्ने भएकाले यहाँका किसानले प्रत्येक बालीको राम्रो उत्पादन लिने गरेका छन् ।” सबै पार्टी, सबै विचारका भए पनि आपसमा मिलेर खेतीको काम उकास्न बभनटोलीका किसानले बसालेको थिति अन्य टोलका सबैले अनुसरण गर्नुपर्ने रामनगरका बूढापाका बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology