• Saturday 25th of July 2026

बिरुवा निर्यात गर्दै तनहुँ


  • गोकर्णेश्वर अनलाइन

दमौली, २ साउन (रासस) : तनहुँ जिल्ला बिरुवा उत्पादनको केन्द्रको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “ उत्पादित बिरुवा जिल्लाभित्रका सर्वसाधारणलाई त निःशुल्क वितरण गरि नै रहेको छ, तर यस वर्ष भने जिल्ला बाहिर पनि वितरण गर्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यसैले जिल्ला बिरुवा उत्पादनको केन्द्रका रुपमा विकसित भइरहेको छ ।” कार्यालयले यस वर्ष आठ लाख ८८ हजार बिरुवा उत्पादन गरेको छ । सङ्घीय , प्रदेश, तनहुँ जलविद्युत् आयोजनाको आर्थिक लगानीमा कार्यालयले ११ स्थानमा बिरुवा उत्पादन गरेको छ । आयोजनाले पनि वन कार्यालयलाई आर्थिक सहयोग गरेको छ ।

कार्यालय प्रमुख बरालका अनुसार जलविद्युत् आयोजनाले ४१६ हेक्टर वन क्षेत्र डुबानमा पार्ने भएकाले आयोजनाले उक्त रुख काटेवापत बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ । “प्रतिरुख काटवापत २५ बिरुवा उत्पादन गरेर संरक्षण गर्नुपर्ने दायित्व आयोजनाको हो तर आयोजनाले उक्त काम आफैँले नगरेपछि वन कार्यालयलाई पैसा प्राप्त भएको थियो”, उहाँले भन्नुभयो, “उक्त रकमबाट पाँच लाख ३० हजार बिरुवा उत्पादन भएको छ ।” डिभिजन वन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार, प्रदेश सरकारमार्फत एक लाख, वन विभागबाट ९० हजार, व्यास सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ६८ हजार, जलविद्युत् आयोजनामार्फत ५० हजार, म्याग्दे सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत ५० हजार लगायत बिरुवा उत्पादन गरिएको छ ।

उत्पादित बिरुवामध्ये जिल्लाभित्र तीन लाख ८४ हजार ९०० र जिल्ला बाहिर ३४ हजार १०० वितरण गरिएको छ । कार्यालयमा अझै चार लाख १९ हजार बिरुवा वितरण गर्न बाँकी छ । कार्यालयले जिल्ला बाहिर पोखरा महानगरपालिकालाई दुई हजार ७५०, डिभिजन वन कार्यालय कास्कीलाई दुई हजार ६००, डिभिजन वन कार्यालय स्याङ्जालाई सात हजार, डिभिजन वन कार्यालय नवलपुरलाई तीन हजार ७००, डिभिजन वन कार्यालय गोरखालाई १० हजार ५०० बिरुवा वितरण गरेको छ । त्यस्तै धादिङलाई तीन हजार, पर्वतलाई एक हजार, लमजुङलाई दुई हजार र वन विभागलाई एक हजार ५५० बिरुवा वितरण गरेको छ ।

कार्यालयबाट चाँप, रुदाक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पीपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टीन चिउरी, टिक, ल्यागरस्ट्रोमियालगायतका बिरुवा वितरण गरिएको छ । कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागिसमेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकैरुपमा अगाडि बढाइएको कार्यालयले जनाएको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये ८२ हजार ५४९ हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६१७ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।

दूधमा अनुदान

कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित बन्दीपुर गाउँपालिकाले दूधमा अनुदान दिएको छ । गाउँपालिकाले दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर रु एकका दरले अनुदान वितरण गरेको हो । वार्षिक बजेटमा नै समावेश गरी गाउँपालिकाले सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई अनुदान वितरण गरेको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ स्थित सूर्योदय दूग्ध उत्पादक सहकारी संस्था र बन्दीपुर गाउँपालिका–५ याम्पा दुग्ध उत्पादक सहकारी संस्थाका कृषकले अनुदान रकम पाएका छन् । उहाँका अनुसार सूर्योदय दुग्ध उत्पादक सहकारीमा आबद्ध कृषकलाई रु एक लाख १७ हजार ५०० वितरण गरिएको छ भने याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकलाई रु १० लाख अनुदानवापत वितरण गर्ने तयारी गरिएको छ ।

कृषकले बढीमा रु ७० हजारसम्म अनुदान रकम प्राप्त गरेका छन् । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न दूधमा अनुदान दिने नीति ल्याइएको जानकारी दिनुभयो । “दूध बिक्री भएको तथ्याङ्कका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यक्रमले कृषक निकै उत्साहित छन् ।” कृषकले आगामी वर्ष दूधमा अनुदान रु दुईसम्म वृद्धि गर्न माग गरेका छन् । सूर्योदय दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीले गत साउनदेखि जेठ मसान्तसम्म कृषकलाई एकमुष्ठ रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

दूधमा अनुदान पाएपछि यहाँका कृषक खुशी रहेको उहाँले बताउनुभयो । याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल घिमिरेले सहकारीमा दूध बिक्री गर्ने कृषकलाई रु १० लाख २९ हजार वितरणको तयारी गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले प्रतिलिटर रु एक अनुदान दिने र सहकारीले पनि रु एक थपेर दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “गाउँपालिकाले जति रकम अनुदान दिन्छ, त्यति नै सहकारीले पनि दिने सम्झौता भएको थियो, केही दिनभित्रै उक्त रकम वितरण गर्छौं”, उहाँले भन्नुभयो ।

उक्त सहकारीमा ११५ शेयर सदस्य र १५ गैर सदस्यले दैनिक दूध बिक्री गर्ने गरेका छन् । गत वर्ष दैनिक चार हजार २०० लिटर दूध सङ्कलन हुने गरेकामा यो वर्ष दैनिक तीन हजार ६०० लिटर दूध मात्रै सङ्कलन भएको थियो । कोरोना र बन्दाबन्दीका कारण दूध उत्पादन घटेको सहकारीले जनाएको छ । याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने जानकारी दिनुभयो । “दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई पशुपालनमा लागिरहन प्रेरणा मिल्छ, आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो । दूधमा अनुदान वितरण गर्नका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको थियो भने उक्त कार्यक्रमलाई आगामी आव २०७७÷७८ मा पनि निरन्तरता दिइएको छ ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । गाउँपालिकाले दूध चिस्यान केन्द्रको स्थापना गरी स्थानीय कृषकबाट उत्पादित दूधलाई चिस्यानकेन्द्रमार्फत बजारमा सहज पहुँच पु¥याउने नीति अवलम्बन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology