• Saturday 25th of July 2026

सुर्खेतमा मल अभाव


  • गोकर्णेश्वर अनलाइन

धान गोडमेल गर्ने ‘सिजन’ शुरु भइसक्यो तर किसानले अझै रासायनिक मल पाएका छैनन् । कोरोना भाइरस विरुद्धको महामारीबाट सुरक्षित रहन सरकारले चार महिना लामो बन्दाबन्दी (लकडाउन) गरेपछि रासायनिक मल ढुवानी हुन नसकेको हो । यसपालि मलबिनै खेत गोडमेल गर्नुपरेपछि किसानलाई उब्जनी कम हुने चिन्ता छ । वीरेन्द्रनगर नगरपालिका–४ का किसान अग्नि चौधरीले खेत रोप्ने बेलादेखि गोडमेल गर्ने बेलासम्म युरिया मल नपाएको बताउनुभयो । “अधियाँमा धान रोपेका थियौँ, मल नहुँदा उब्जनी कम हुने देखियो,” उहाँले भन्नुभयो, “उब्जनी कम हुँदा अधियाँबाट खासै फाइदा हुँदैन, दुःख अनुसार प्रतिफल आउँदैन ।”

वीरेन्द्रनगर–३ पतेनीका किसान ओमप्रसाद भण्डारीले अघिल्ला वर्षमा मलका कारण रामै्र उब्जनी गरेको बताउँदै यसपालि खाद्यान्नको अभाव हुने चिन्ता व्यक्त गर्नुभयो । वीरेन्द्रनगरका चौधरी र भण्डारी मात्र नभई कर्णालीका अधिकांश किसानले मल पाएका छैनन् । मलको अभाव भई धानबालीमा आफूहरुको मेहनत र लगानी खेर गएको किसान बताउँछन् । स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी सङ्घ–संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् । मल आपूर्ति गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम केसीले रासायनिक मल (युरिया) कर्णालीमा मात्र नभई देशैभर अभाव रहेको बताउँदै भन्नुभयो, “लकडाउनले गर्दा युरिया मल नेपालमै भित्रिएको छैन, डिएपी मल भैरहवासम्म आइपुगेको छ ।” सरकारले सहुलियतमा उपलब्ध गराउने मल नपाएपछि कृषिसँग सम्बन्धित सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology