• Saturday 1st of August 2026

बाँकेमा कोरोनाबाट ७० वर्षीयाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो ।

कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् । यसअघि नरैनापुर गाउँपालिका– ५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज –१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology