• Saturday 25th of July 2026

नयाँ रोगको चपेटामा अकबरे


  • गोकर्णेश्वर अनलाइन

रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो । यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ । गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकामा यस वर्ष रु ५० हजार मात्र हुने उहाँको अनुमान छ । “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ ” चापागाईंले भन्नुभयो,“बढी पानी र हुस्से परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।”

गएको वर्ष एक हजार बिरुवा लगाएकामा करिब डेढ÷दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चपागाईंको भनाइ छ । किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् । गत फागुनमा ८०० बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो सुनाउनुभयो । रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ । “फेद कुहिने रोगले अकबरे सबै सकियो”, भट्टराईले भन्नुभयो,“ गएको वर्षसम्म खासै रोग थिएन यस वर्ष एकैचोटि रोग देखियो ।”

पराम्परागत विधि अपनाएर खेती गरेकाले नयाँ रोगले आक्रमण गरेको भट्टराईको भनाइ छ । वैकल्पिक उपाय अपनाउँदा आशा देखियो नयाँ प्रविधि अपनाउँदा अकबरेमा रोगको सङ्क्रमण कम देखिएको किसान र विज्ञको भनाइ छ । माटोमा प्लाष्टिकको प्रयोग गरेर ड्याङ बनाई खेती गर्दा केही प्रभावकारी देखिएको उनीहरूको भनाइ छ । “नयाँ प्रविधि अपनाएको अकबरे चाहिँ केही रह्यो”, किसान भट्टराईले भन्नुभयो, “हामीले गरेको नयाँ प्रविधिको सामूहिक खेती चाहिँ अथवा जस्तो देखिएको छ ।” भट्टराईका अनुसार सूर्योदय–३ मा भूल्के खोला सिँचाइ आयोजनाअन्तर्गत गरिएको खेतीबाट चाहिँ किसानले आंशिक फाइदा लिइरहेका छन् ।

एकतीस जनाको खेती रहेको सो बगानमा पहिलो चरणमै तीन मन उत्पादन बेचिसकिएको छ । अकबरे रोगकै चपेटामा परे पनि शुरुआती समयमै औषधि लगाउँदा उत्पादन दिएको भट्टराईको भनाइ छ । भाइरस रोगको सङ्क्रमण प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल विल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ । ब्याक्टेरियन विल रोग अन्य रोगभन्दा घातक रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो । यसबाट अकबरेलाई बचाउनका लागि माटो परीक्षण (पीएच मान छ देखि ७ दशमलव ५) गर्नुपर्ने, प्राङ्गारिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरकफरक खेती लगाइरहनु पर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीऊ र मोटो दुवैबाट लाग्न सक्छ । अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याँक्दा पनि नियन्त्रण हुन सक्छ । “बिरुवा गोड्दा घाउ बनेको छ भने त्यहाँबाट पनि हावाको माध्यमबाट यो रोग सर्छ”, अधिकृत खड्काले भन्नुभयो, “यो रोग बढी घाम लाग्ने र बलौटे माटोमा देखिन्छ ।ް” यस्तै अकबरेमै देखिने अर्को रोग ड्यापिङ अफ पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ । यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गर्छ । अकबरे किसान एवं प्राविधिक भट्टराईले भन्नुभयो, “यसका लागि चाहिँ कालो प्लाष्टिकमा ड्याङ बनाएर खेती गर्दा उचित हुन्छ ।”

यस्तै पछिल्लो समय अकबरेमा देखिएको रोग मोटल भाइरसले धेरै नोक्सानी गरेको कृषि विशेषज्ञको भनाइ छ । अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । यो रोगबाट अकबरे बचाउन गाईको दूध (आधा लिटर) मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ । जिल्लाका सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका क्षेत्रमा यो रोग देखा परेको कृषि ज्ञान केन्द्र इलामको भनाइ छ । जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology