• Sunday 2nd of August 2026

पत्रकारको परिचयपत्र नक्कली बनाएर दुरुपयोग


  • गोकर्णेश्वर अनलाइन

पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । केही दिन अघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै एक हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारवाही थालेको छ । प्रहरीका अनुसार पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको छ ।

मङ्गलबार पनि काठमाडौँको बागबजारमा पत्रकारको परिचयपत्र नक्कली बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गरेको थियो । यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सामाजिक सञ्जालमा आएका जथाभावीका सूचना प्रवाह गरेर र यूट्यूबमा आएका सामग्रीलाई हेरेर मानिसले पत्रकारका विषयमा नकारात्मक धारणा बनाउने गरेका छन् । यस्ता घटनाले वास्तविक पत्रकार प्रभावित हुँदै आएका छन् । पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासङ्घले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गर्दै आएको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाई प्रतिकार्ड रु ५०० भन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले न्यौपानेसहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भई काठमाडौँ भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भई हाल धापसी बस्ने राजेन्द्रराज भण्डारी रहेको थापाले जानकारी दिनुभयो । उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology