• Sunday 2nd of August 2026

ढोरपाटन बाढीपहिरोः पीडितलाई ऋणको चिन्ता


  • गोकर्णेश्वर अनलाइन

बागलुङको ढोरपाटन नगरपालिका—९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । जसोतसो ऋणधन गरेर बनाएका घरसँगै आफन्तलाई पनि बाढीले बगाएपछि अब साहुको ऋण कसरी तिर्नु भन्ने चिन्ताले सताउन थालेको उनीहरुको भनाइ छ । “बाढीपहिरो आउने समयमा भागेर ज्यान बचाएकाहरुको न त व्यापार गर्ने सामग्री रहयो, न त व्यापार गर्ने ठाउँ नै”, स्थानीय व्यापारी हेमबहादुर बिकले भन्नुभयो, “बसेको ठाउँ बगर बनेपछि साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले साताउन थालेको छ ।” विगत १२ वर्षसम्म साउदीमा काम गरेर घर फर्किनुभएका बिकले बोबाङ्गमा सानो पसल थापेर व्यापार शुरु गर्नुभएको थियो ।

“शुरु शुरुमा त्यती राम्रोसँग नचलेको पसलबाट परिवारको जिविका चलाउन सहज होला भन्ने लागेन”, उहाँले भन्नुभयो, “परिवारको जिविका चलाउनका लागि त्यो पसललाई केही ठूलो बनाएर दैनिक उपभोग्य सामानहरु राख्ने सोचका साथ साहुसँग ऋण लिएर पसललाई बिस्तार गरें । तर भुजीखोलामा आएको बाढीले पसलसँगै आफ्नो सपनालाई समेत बगाएर लगिदियो ।” अहिले बिकलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । “सधैंझै खाना खाएर सुतिसकेपछि मध्यरातमा एक्कासी गड्याङगुडुङसहित ठूलो आवाज भयो । जमिन पूरै हल्लियो । कहाँ के भयो थाहा भएन । बाहिर निस्केर म चिच्याउन थालें”, बिकले भन्नुभयो, “चिच्याएको मेरो आवाज सुनेर घरपरिवारका सबै जना बाहिर निस्के ।

म बाहिर निस्केर नचिच्याएको भए मेरो परिवारलाई पनि घरैसहित खोलाले बगाएर लाने थियो होला ।” उहाँले भन्नुभयो, “मेरो चिच्याइले परिवारका सबै सदस्य बाहिर निस्केका कारण बच्न त सफल भयो तर त्यो बाढीले मेरो घर, खाद्य गोदामसहित भएभरको सम्पति बगायो ।” पैसा र सुन निकाल्ने लोभका कारण धेरै जनाले अकालमै ज्यान गुमाएको उहाँको भनाइ छ । बिकलाई आफ्नो घर सम्पत्ति बगेको जति पीडा छ त्योभन्दा बढी पीडा अब कसरी ऋण तिर्न सकिन्छ भन्ने छ । विभिन्न पसल र साहु गरी करीब रु १८ लाखभन्दा बढी ऋण तिर्न बाँकी रहेको उहाँको भनाइ छ । “न खाना खान मन लाग्छ, न निद्रा नै लाग्छ”, उहाँले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै भन्नुभयोे– “यहिँ पनि अरुले दिएका हुन्, केही सोच्नै सकेको छैन टाउका घुमाउँछ, ऋणको पासोले मेलोबाटो पाइन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology