• Saturday 25th of July 2026

टिमुर पाकेपछि मात्रै टिप्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

यहाँको प्रमुख नगदेबालीका रुपमा रहेको टिमुर नपाक्दै टिप्न थालेपछि वनस्पती अनुसन्धान केन्द्रले राम्रोसँग पाकेपछि मात्रै टिप्न आग्रह गरेको छ । टिमुर राम्रोसँग नपाकेर टिप्दा बिग्रने भएकाले राम्रोसँग पाकेपछि मात्रै टिप्न आग्रह गरिएको हो । स्थानीयवासीले अलि–अलि पाक्न लागेको टिमुर टिप्न थालेपछि कुहिने तथा बिग्रने समस्या हुने भएकाले राम्रोसँग पाकेपछि मात्रै टिप्न तथा भण्डारण गर्न आग्रह गरेको वनस्पती अनुसन्धान केन्द्र कपुरकोटका प्रमुख दिनेश बरालले जानकारी दिनुभयो । नपाकेको टिमुर टिप्दा गुणस्तरसमेत नहुने भएकाले पाकेपछि मात्रै टिप्नुपर्ने उहाँको भनाइ छ । “सल्यानको हावापानीमा टिमुर असोज महिनामा मात्रै राम्रोसँग पाक्ने गर्दछ, त्यो भन्दा अगाडी टिमुर नटिप्न म कृषकलाई आग्रह गर्दछु”, प्रमुख बरालले भन्नुभयो । किसानले काम नभ्याइने भन्दै भदौको पहिलो सातादेखि नै टिमुर टिप्न थालेका छन् ।

“राम्ररी नपाकेको टिमुरमा ढुसी परेर विग्रने तथा तेल निकाल्न नसकिने हुन्छ, ध्यान पु¥याएर टिपेको टिमुरबाट मात्रै तेलको मात्रा धेरै निस्कने हुन्छ”, बनस्पती अनुसन्धान केन्द्रका सूचना अधिकारी गोपाल शर्माले भन्नुभयो । नेपालका सुगन्धित वनस्पतीको तेल प्रतिशत निर्धारण, २०७४ अनुसार यसरी गुणस्तरीय तरिकाले उत्पादन भएको टिमुरबाट अनुसन्धात्मक प्रयोगशालामा दुईदेखि आठ प्रतिशतसम्म र उद्योग कलकारखानामा तीनदेखि पाँच प्रतिशतसम्म तेल निकाल्न सकिन्छ । अनुसन्धान केन्द्रका हेड फिल्ड सहायक कृष्ण पुनले टिमुर टिप्दा सकभर सिकेचरको प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो । “बिहान, साँझ र झरी भएको बेला टिमुर टिप्ने तथा प्लाष्टिकका थैलामा टिमुर टिप्नु हुदैन”, उहाँले भन्नुभयो । बाँसबाट बुनेको डोको डालालगायतका भाँडामा टिमुर टिपेर कम्तीमा सात दिनसम्म छायाँमा सुकाउँदा टिमुरको गुणस्तर कायम हुने पुनको भनाइ छ ।

जिल्लामा उत्पादन भएको टिमुरले गत आर्थिक वर्षमा प्रति किलो रु पाँच सयसम्ममा बिक्री भएको उहाँले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा टिमुरको व्यावसायिक खेति हुँदै आएको वनस्पती अनुसन्धान केन्द्रले जनाएको छ । कम लगानी र धेरै वर्षसम्म उत्पादन हुने तथा यसबाट राम्रो आम्दानी हुने भएपछि किसान पछिल्लो समय टिमुर खेतिमा आर्कषित हुन थालेका छन् । टिमुरबाट निस्केको तेललाई सुगन्धित तेलका रुपमा, साबुन, मसला, ज्वरो आएका बेला, हैजा, पेट तथा जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउनका लागि प्रयोग हुने गरको वनस्पती अनुसन्धान केन्द्रले जनाएको छ । यहाँ उत्पादन भएको टिमुर फ्रान्ससम्म निर्यात हुदै आएको बताइएको छ । गत आर्थिक वर्षमा सल्यानबाट करिव रु ३९ करोड बरावरको टिमुर निर्यात भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology