• Sunday 2nd of August 2026

पाइन छाडे असला माछा


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरुमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताउनुभयो । नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत सङ्कटमा परेको छ । खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धेरै माछा पाइन्थे माछा मारेर यहाँका स्थानीयवासीको जीविका चल्थ्यो अहिले माछा भेटिन छाड्यो ।”

सो नदीमा माछा पाउन छाडेपछि माछा संरक्षणका लागि स्थानीय सरकारले पहल थालिरहेको उहाँले जानकारी दिनुभयो । सो नदीमा पाइने असला माछामात्र नभई खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजातिसमेत देखिन छाडेको यहाँका बुढापाका बताउँछन् । स्थानीय सरकारले माछा संरक्षणका क्रियाकलाप गर्न जरुरी छ । किसानलाई व्यावसायिक माछापालन गर्नतिर आकर्षित गर्न काम गर्न आवश्यक रहेको तिला– १ रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “माछा लोप हुँदै गएपछि मूल्य पनि निकै बढेको छ । दुई वर्षअघि माछाको मूल्य प्रतिकेजी रु ३०० थियोे । अहिले रु ६०० प्रतिकेजीमा किनबेच भइरहेको छ ।” यो मूल्य खसीको मासुको भन्दा पनि बढी हो शिक्षक उहाँले जानकारी दिनुभयो ।

माछा मार्नका लागि करेन्ट लगाउनु, विषादीको प्रयोग बढ्दै जानु, नदीमा फोहर मिसाउनु र पानीको बहाव दिन प्रतिदिन घट्दै जानुले माछा लोप हुँदै गएको माछा विज्ञहरु बताउँछन् । पहिले यहाँको माछा जुम्लाबाहिर निर्यात हुन्थ्यो । अहिले सदरमुकाम खलङ्गामा समेत यो माछा देखिन छाड्यो । झण्डै एक वर्षअघि जिल्लाको रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा माछा मरेका थिए । तिला नदीमा पाइने लोपोन्मुख असला जातका माछा जोगाउन नदीमा करेन्ट लगाउने, विषादी प्रयोग गर्ने जस्ता कार्य रोक्न जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकीले बताउनुभयो । नेपालमा २३० प्रजातिका माछाहरु पाइने गरेकामा कर्णाली नदीमै मात्र आठ प्रजातिका माछाहरु पाइने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology