• Saturday 25th of July 2026

पशु बीमामा कृषकको आकर्षण


  • गोकर्णेश्वर अनलाइन

तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५÷७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६÷७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । बीमावापत सरकारले रु एक करोड ९० लाख ८२ हजार २५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले रु ४७ लाख ७० हजार ५६२ भुक्तानी गरेका छन् । गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो ।

जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ । रु एक करोड ३३ लाख २० हजार मूल्य बराबरका २२ हजार २०० कुखुरा, रु पाँच करोड ३९ लाख ९० हजार मूल्य बराबरका पाँच हजार ३९९ बाख्रा, रु १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, रु १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, रु १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३०३ भैँसी र रु ७७ लाख ८५ हजार मूल्य बराबरका ५१९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ । त्यसमध्ये गाईको बीमामा कृषकले रु २१ लाख ८७ हजार ५००, भैंसीको बीमामा रु १६ लाख २८ हजार ७५०, बाख्राको बीमामा रु छ लाख ७४ हजार ८७५, बङ्गुरको बीमामा रु ९७ हजार ३१२, कुखुराको बीमामा रु एक लाख ६६ हजार ५०० र माछाको बीमामा रु १५ हजार ६२५ तिरेका छन् । तनहुँ जिल्लामा एनएलजी, सगरमाथा, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन् ।

बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताउनुभयो । “पशुको मृत्यु भएको खण्डमा कृषकले बीमामार्फत राहत पाउँछन्”, उहाँले भन्नुभयो, “मैले सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।” यस अवधिमा उहाँले १२ वटा गाईको मृत्यु भएपछि बीमाबाट भुक्तानी लिनुभएको छ । चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषक उत्साहित भएको भट्टराईले बताउनुभयो । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले बीमा कार्यक्रम राम्रो भए पनि दाबी भुक्तानी लिने बेलामा इन्स्योरेन्स कम्पनीले दुःख दिने गरेको बताउनुभयो ।

“मैले भैँसीको बीमा गराएको थिएँ, भैँसी मरेपछि भुक्तानी दाबी गर्न जाँदा चार महिनासम्म झुलाउने काम भयो”, पौडेलले भन्नुभयो । व्यास नगरपालिका–१ का कुखुरापालक कृषक खेमराज अधिकारीले पनि भुक्तानी प्रक्रिया झण्झटिलो भएकाले सहज बनाउनुपर्ने बताउनुभयो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology