• Saturday 25th of July 2026

ओइले रोगले गोलभेँडाको बोटै सुकायो


  • गोकर्णेश्वर अनलाइन

बीस वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आउनुभएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश हुनुभएको छ । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा खेती सुकेपछि यो मौसममा लगानी खेर गएको छ । गोलभेँडामा ओइले रोगको प्रकोप रहेको जनाइएको छ । थापाले २० वर्षदेखि बागलुङ नगरपालिका–३ कृषि गाउँमा १४ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी तथा च्याउ खेती गर्दै आउनुभएको छ । “टनेलमा गोलभेँडा सुकेपछि अहिले धमाधम गोलभेँडा हटाउन थालेको छु” उहाँले भन्नुभयो, “ओइले भन्ने मौसमी रोगका कारण गोलभेँडा सुक्दै गएको हो, यसको पूरै निको गर्ने औषधि हुँदैन ।”

उहाँका अनुसार लगातार एउटै बाली लगाउने स्थानमा यस्तो रोगको प्रकोप बढी हुन्छ । सधैँ तरकारी खेती गरेको स्थानमा रोगको प्रकोप देखिन्छ । कृषि गाउँका अन्य कृषि फर्ममा समेत यो समस्या देखिएको बताएका छन् । कृषक थापाले यसको समाधानका लागि पुनः चार पाँच वर्षमा एक पटक धान, गहुँ खेती गर्न आवश्यक रहेको बताउनुहुन्छ । माटोमा एकै प्रकारको खेती गर्दा खेतीयोग्य जमीनमा हुने अम्लिय पदार्थ लगायतका तत्वहरुका कारण विभिन्न रोगको प्रकोप हुने भएकाले कहिलेकाही तरकारी खेतीमा अन्नबाली लगाउनुपर्ने आवश्यकता देखिन्छ । ओइले रोगका कारण गङ्गा थापाको मात्रै एक मौसममा एक लाखभन्दा बढी क्षति भएको छ । यस्तो समस्या कृषि गाउँमा मात्रै नभएर अन्यत्र समेत आउने अगुवा किसान गङ्गा थापाको भनाइ छ ।

बागलुङ–४ गौरिधामका किसान टेकबहादुर विकले ओइले रोगका कारण टमाटर मर्नथालेपछि आफू निरास भएको बताउनुभएको छ । यस्तै सोही स्थानका किसान भविलाल विकले टमाटरका बिरुवा फल दिनेवेलामा ओइले रोग लागेर मर्न थालेपछि बिरुवा हटाउन थालेको बताउनुभयो । बिमाडोर भन्ने रोग लागेका कारण तत्कालका लागि त्यस जमिनमा आलु, टमाटर र खुर्सानी जस्ता खेती गर्न नहुँने बागलुङ नगरपालिकाका पशु तथा कृषि शाखा प्रमुख सशी शर्माले बताउनुभयो । उहाँले त्यस्तो जमीनमा तत्कालका लागि अन्नबाली लगाउनुपर्ने सुझाव दिनुहुन्छ । गाउँमा मात्रै ५० जनाभन्दा बढी व्यावसायिक कृषकहरुले तरकारी, कुखुरा, माछा, बङ्गुर तथा गाईपालन गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology