• Monday 3rd of August 2026

सिमानाका बन्द हुँदा खाद्य सङ्कट भएपछि लिमीमा ३०० क्विन्टल चामल पठाइयो


  • गोकर्णेश्वर अनलाइन

हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ । सिमानाका बन्द हुँदा खाद्यान्न सामग्री आयात नुहँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल बुझाइएको छ ।

खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो ।

लिमीका तीनवटै गाउँमा खाद्यान्न सङ्कट परेपछि हुम्लाका विभिन्न निकायले पहल गरेलगत्तै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले तत्कालका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ । केही दिन अगाडि मात्रै सो संस्थानले केन्द्रीय कार्यालयमा पाँच हजार क्विन्टल खाद्यान्न माग गरे पनि ३०० क्विन्टल चामल मात्रै स्वीकृत भएर गाउँतिर ढुवानी गर्न शुरुआत गरिएको बताइएको छ । अहिलेलाई यति नै भए पनि केही राहत हुने स्थानीयवासीले बताएका छन् । अन्य थप खाद्यान्नका लागि पनि पहल गरिरहेको संस्थानका प्रमुख विष्टले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology