• Saturday 25th of July 2026

आलुको बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा


  • गोकर्णेश्वर अनलाइन

आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् ।

स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् ।

भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि कैलालीको स्थानीय बजारमा यसको मूल्यमा अत्यन्त वृद्धि भएको किसानको गुनासो छ । कैलालीका बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो ९० देखि एक सय पाँच रुपैयाँसम्म बिक्री भइरहेका छन् । रातो र सेतो आलुको बीउ प्रतिकिलो रु. ७५ देखि ९० मा बिक्री भइरहेको छ । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो रु.३० देखि ५० सम्म रहेको थियो ।

गत वर्ष पाँच विघा क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएका टीकापुर–१ बनगाँउका किसान बलिराम चौधरी यो वर्ष दुई बिघा क्षेत्रफलमा मात्र आलु खेती गर्ने तयारीमा हुनुहुन्छ । विगतका वर्षभन्दा यो वर्ष आलुको बीउ महँगो हुँदा उहाँले आलु खेतीको क्षेत्रफल नै घटाएको बताउनुभयो । ‘‘नेपालमा आलुको बीउको अभाव छ । यहाँको बीउले किसानको माग पूरा गर्न सक्दैन’’, उहाँले भन्नुभयो, ‘‘प्रतिकिलो सय रुपैयाँमा बीउ किनेर खेती गर्नुको कुनै फाइदा छैन् । पछि आलु उत्पादन राम्रो नभए ठूलो लगानी खेर जान्छ । त्यसैले आलु खेतीका लागि केही जमीन घटाएर त्यसमा अन्य तरकारी लगाउने योजना छ ।’’

कैलालीका बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण पनि किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । टीकापुर बजारमा आलुको बीउ किन्न आएका टीकापुरका खुशीराम चौधरीले आफू पाँचवटा पसलमा गएको तर आलुको बीउको मूल्यमा एकरुपता पाउन नसकेको बताउनुभयो । “एउटै आलुको पसलैपिच्छे मूल्य फरक छ”, उहाँले भन्नुभयो, “उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरु चर्को मूल्य तिर्न बाध्य भएका छौँ ।” चौधरीले पनि गत वर्ष चार बिघा क्षेत्रफलमा आलु खेती गर्नुभएको थियो । बीउ महँगो भएकै कारण यो वर्ष उहाँले पनि यसको क्षेत्रफल घटाएको छ ।

‘‘आलुको बीउ मात्र होइन, खेतीमा प्रयोग हुने रासायनिक मल समेत महँगो भएको छ’’, चौधरीले भन्नुभयो, ‘‘किसानका लागि आवश्यक बीउ र मल सहज पाउने वातावरण नै छैन । बीउ र मल खोज्न किसानलाई निकै सास्ती हुने गरेको छ । खेतीका लागि आवश्यक मलखाद्य, गुणस्तरीय बीउ, उपयुक्त प्रविधि र सिँचाइ सहज रुपमा उपलब्ध भए यसतर्फ किसानको आकर्षण बढ्छ ।’’
विगतका वर्ष निर्वाध र सहज रुपमा भारतीय सीमा बजारबाट नेपाली किसानले आलुको बीउ ल्याउन पाउँथे । यो वर्ष नाका पूर्णरुपमा बन्द रहेकाले किसानलाई समस्या भएको हो । स्थानीय उत्पादनमा किसान भर पर्दा गत वर्षको तुलनामा आलुको बीउ अत्यन्त महँगो भएको टीकापुर–९ बनगाँउका किसान कृष्णगोपाल चौधरीको भनाइ छ । ‘‘कृषिमा प्रोत्साहन गर्न स्थानीय सरकारले बीउ र मलमा अनुदान दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘कोरोना महामारीपछि धेरै क्षेत्रजस्तै कृषिमा पनि ठूलो असर पारेको छ ।’’

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधज्ञाले कृषि क्षेत्रलाई बढी असर पारेको बताउनुभयो । ‘‘गर्मीमा तरकारी बारीमै सड्यो, अहिले बीउ र मल महँगो भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कृषि क्षेत्रको व्यवसायीकरणका लागि स्थानीय सरकारले यसलाई विशेष प्राथमिकतामा राख्न सक्नुपर्दछ ।’’

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology