• Saturday 25th of July 2026

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित


  • गोकर्णेश्वर अनलाइन

अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पु¥याउन खाँचो थियो । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।”
यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उहाँको भनाइ छ । यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने यो चक्रिय मार्ग पछिल्लो समय मोटरेबल बाटोले विस्थापित गदै १४ दिनमा झरेको छ ।
टानले यस क्षेत्रको पदमार्गको संरक्षणका लागि पर्यटन र नयाँ पदयात्राको गन्तव्यको खोजीलाई समेत ध्यान दिएको छ । सापकोटाका अनुसार कोभिड– १९ का कारण जारी बन्दाबन्दीकै समयमा टानले अन्नपूर्ण चक्रियमार्गको प्रवेशद्वार लमजुङको बेशीशहरमाथि खुदीबाट मनाङको तालसम्म मनाङ लमजुङ होटल व्यवस्थापन समितिसँग मिलेर वैकल्पिक पदमार्गको निर्माण गरिएको छ । यसले पर्यटकको ‘लेन्थ अफ स्टे’लाई ६ दिन बढाउने उहाँको विश्वास छ । त्यसैगरी तिलिचो ताल र नार्फू ट्रेकलगायत साइट पदमार्गको प्रवद्र्धनमा टानले पहल गरिरहेको छ ।
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)का पोखराका उपाध्यक्ष एवं माउण्ट कैलाश होटलका संचालक नरेश भट्टराईले विश्वमा नेपाललाई चिनाउन यस्ता समाचारले ठुलो भूमिका खेल्ने बताउँदै भन्नुभयो, “अझै पनि हामीले हाम्रो पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पु¥याउन सकेका छैनाँै, यो समाचारले नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पु¥याउन भूमिका खेल्नेछ ।”
गण्डकी प्रदेशमा सञ्चालनमा रहेका पदमार्गहरु ३९ वटा भन्दा बढी छन्, जसमा अन्नपूर्ण रेन्ज अन्तर्गत २९ वटा पर्दछन् भने धौलागिरी सर्किट ट्रेकिङमा ६ वटा छन् । मनास्लुअन्तर्गत ३ र पर्वतको एक भवरकोट पदमार्ग पर्छ । टानले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण सङ्कटग्रस्त अवस्थामा रहेको भनिएकोे छ, जसमा दुई दर्जन बढी स्थान प्रवद्र्धनको पर्खामा छन् । यसैमध्येको अन्नपूर्ण सेरोफेरोमा रोयल ट्रेक ट्रेक सन् १९८० मा वेलायतका राजकुमार चाल्र्सले शुरु गरेका थिए ।
सन् २०५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हार्जोकले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै नेपालमा पर्यटन विकासको थालनी भएको यस क्षेत्रका जनाकारहरु बताउँछन् । गण्डकी प्रदेशमा धौलागिरी (८१६७) अन्नपूर्ण (८०९१) मनास्लु(८१५६) गरी तीनवटा हिमाल ८ हजार मिटर अग्ला छन्
लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । यस साइटले अन्नपूर्ण सर्किटलाई स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषतालाई समावेश गर्दै साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने उल्लेख गरेको छ । साइटको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology