• Wednesday 9th of September 2026

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट


  • गोकर्णेश्वर अनलाइन

पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो ।

सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताउनुभयो । “सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,” उहाँले भन्नुभयो, “यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।”

पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । दशैं बिदाको क्रममा मानहुँकोटमा अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । दशैं बिदाको मानहुँकोटमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको स्थानीयवासी रेवती आलेले जानकारी दिनुभयो ।

बुधबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक मानहुँकोट पुगेका छन् । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले दशैं बिदा पारेर मानहुँकोटमा घुम्न आउने आन्तरिक पर्यटकको भीड लागेको जानकारी दिनुभयो । “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा मानहुँकोट विकास भइरहेको छ,” उहाँले भन्नुभयो, “दिउँसो मात्रै नभई रातको समयमा पनि मानहुँकोटमा रात बिताउने पर्यटक अत्याधिक रहे ।” उहाँका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् ।
तनहुँ जिल्लाभित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि मानहुँकोटमा पर्यटक आउन थालेका छन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology