• Saturday 25th of July 2026

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण


  • गोकर्णेश्वर अनलाइन

गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर बाटोमा सिँढी निर्माण गरिएको हो ।

पोखरीदेखि यज्ञशालासम्म जाने सिँढीका लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोटबाट रु ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ । यज्ञशालासम्मको सिँढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ बनाइएको छ । प्रत्येक रेलिङको लाइनमा तीनवटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रत्येक सिढीँको उचाइ छ इन्च र चौडाइ १४ इन्च रहेको छ । सिँढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिँढीको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टिको किनारमा दृश्यावलोकन स्तम्भसम्म नै फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको भण्डारीले बताउनुभयो । सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । “पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिँढी बनेपछि चिटिक्क भएछ”, छ वर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भन्नुभयो, “अब रेसुङ्गासम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।” तीन वर्षअघि गुल्मी उद्योग वाणिज्य सङ्घले रु १७ लाख ५० हजारको लागतमा सिँढी निर्माण कार्य शुरु गरेको थियो ।

त्यसपछि आर्थिक वर्ष ०७५÷७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट रु ९५ लाख विनियोजन भयो । गत आवमा पनि रु ८० लाख विनियोजन भएको थियो । सरकारी लागत अनुमानअनुसार उक्त सिँढीको कुल लागत रु दुई करोड ५० लाख हो तर उपभोक्ता समितिमार्फत काम गर्दा रु कुल एक करोड ९२ लाख ५० हजारमा काम सकिएको निर्माण समितिका सचिव वीरेन्द्र भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology