• Saturday 25th of July 2026

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’


  • गोकर्णेश्वर अनलाइन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उहाँले यस क्षेत्रमा पर्यटन विकासका लागि योजनावद्ध रुपले अघि बढ्ने बताउनुभयो ।

गृह जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री भट्टराईले आज बिहान भानुजन माद्यामिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषय अध्ययनको शुभारम्भ गर्दै विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङफुङे झरना, तिम्बुङ पोखरीजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

प्रचार–प्रसार र प्रर्याप्त पर्यटन पुर्वाधारको अभाव साथै पर्यटनमैत्री व्यवहारको विकास नहुँदा अथाह सम्भावना बोकेका क्षेत्रहरु अझै पछि परेको उल्लेख गर्दै उहाँले सम्भावनका अवसरको सदुपयोगमा लाग्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै ताप्लेजुङका विद्यालयमा समेत पर्यटन र पर्वतारोहण विषयका अध्ययन शुरु भएसँगै यसले पर्यटन क्षेत्रमा राम्रो नतिजा दिने विश्वास लिइएको छ । यसको अध्ययनले रोजगारी सृजना हुनुका साथै पर्यटनमैत्री व्यवहार र संस्कारको विकास हुने मन्त्री भट्टराईको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology