जिल्लामा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।
गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।
पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उहाँको भनाइ छ । प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ । यस वर्ष वैशाख–जेठ महिनादेखि नै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए ।
लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ ।
विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् ।
असी प्रतिशत कृषकले धान भित्र्याइसकेका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमीनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
सलह, फौजीकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ । गत वर्षको तुलनामा १६० मेट्रिक टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।
गत वर्ष तीस हजार २६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको छ । फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । अर्को खाद्यबाली कोदो भित्र्याउन भने शुरु भएको छ ।
विद्युतीकरण योजना अलपत्र
धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित विद्युतीकरण योजना अलपत्र परेको छ । मुदी र खाम्लामा विद्युतीकरण गर्न सञ्चालित योजना नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रको बेवास्ता तथा निर्माण व्यवसायीको लापरबाही कारण अलपत्र परेको हो । गत चैत–वैशाख महिनामै वायरिङ गरेका स्थानीय बासिन्दा अझै बिजुली नबल्दा निराश भएका छन् ।
“बिजुली बल्ने आशामा काँध खुइलिने गरी पोल ढुवानी गरेर गाडेको पनि सात महिना पुग्यो,” स्थानीयबासी धनबहादुर पुर्जाले भन्नुभयो, “घरमा वायरिङ गरेपनि मुख्य लाइन विस्तार नगर्दा बिजुली बाल्ने सपना अधुरो भयो ।” मुदीका २५५ र खाम्लाका ६५ गत वैशाखमै बिजुली बाल्ने लक्ष्य थियो । मच्छिमदेखि मुना हँुदै मुदी र खाम्लासम्म मुख्य तथा केही ठाउँमा शाखा लाइनको तार ताल्ने काम बाँकी छ । मुख्य र शाखा पोल गाडिएको छ ।
हालै मुदी सडक यातायातमा जोडिएको छ । मुदी र खाम्लाका बासिन्दा उज्यालोका लागि अहिले सोलार र मट्टितेलको टुकीमा निर्भर छन् । विद्युत प्राधिकरणमा पटक–पटक ध्यानाकर्षण र ताकेता गरेपनि बेवास्ता गरेका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “ठेकेदारले प्राधिकरणलाई, प्राधिकरणले प्रदेश कार्यालयलाई दोष देखाउँछन्,’ उहाँले भन्नुभयो ‘छिट्टै बिजुली बलेर जनताले सुबिधा पाउलान भनेर हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गर्नुको उद्देश्य पुरा भएन् ।’ मुदीमा विद्युतीकरण भएपछि धवलागिरीलाई उज्यालो पालिका धोषणा गर्ने गाउँपालिकाको तयारी छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापाले विद्युत प्राधिकरणले तार र पोलमा राख्ने सामग्री उपलब्ध नगराएकाले काम गर्न नसकेको बताउनुभयो । पोखरास्थित प्रदेश कार्यालयले तार उपलब्ध नगराएकाले विद्युतीकरणको काम प्रभावित भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख माधव महतले बताउनुभयो । “प्रदेश कार्यालयबाट तार आउने बित्तिकै फिल्डमा पठाएर तान्न लगाउँछौ,” उहाँले भन्नुभयो “तिहार लगत्तै बिजुली बाल्ने लक्ष्यसहित पहल गरेका छौँ ।”
धवलागिरी गाउपालिका—७ मा पर्ने साविक ताकम गाविसका करिब ८०० र वडा नं. ६ मराङको करिब १५० घरमा मात्र केन्द्रीय प्रशारण लाइनको विद्युत् पुगेको छ । गत वर्ष वडा नं. २ लुलाङमा लघुजलविद्युत् र वडा न. ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु-याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत हालै ५० वाट क्षमताको सोलार सेट बितरण गरिएको थियो ।
