• Saturday 25th of July 2026

कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने


  • गोकर्णेश्वर अनलाइन

कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको कागेश्वरी धामलाई धार्मिक पर्यटीय स्थलका रुपमा विकास गरिने भएको छ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले कात्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहारका अवसरमा आज कागेश्वरी महादेव मन्दिर परिसरमा निर्माण भएको २२७ किलो अष्टधातुको कागको मूर्तिमा माल्यार्पण गर्न आयोजित कार्यक्रममा धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न गत वर्ष धाम जाने सिँढी बनाउन प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको थियो । यहाँ दुई हजार सिँढी निर्माण भइरहेको छ । यस वर्ष पनि प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको छ । धाम नजिकै निर्माण भइरहेको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार ४०० किलो अष्टधातुको विश्वकै ठूलो कागको मूर्ति निर्माण भइरहेको छ ।

आगामी फागुन ७ गते सो मूर्ति निर्माण सम्पन्न गरी स्थापना गरिने मन्त्री फुयाँलले जानकारी दिनुभयो । कोरोनाको महामारीका कारण मूर्ति निर्माणमा केही ढिला भएको छ । मूर्ति निर्माण गर्न नगरवासीले विभिन्न धातुका सामग्री सहयोग स्वरुप दिएका थिए । कागको ठूलो मूर्ति स्थापनापछि गोकर्णेश्वर महादेव, राष्ट्रिय शहीद स्मारक, तारेभीर, सुन्दरीजल, सुन्दरीमाई, कागेश्वरी, नवतनधाम, मणिचुड, बज्रयोगिनी, ऐतिहासिक नगर साँखु र सालिनदी क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न यस क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाका बीचमा सहकार्य भइरहेको जनाइएको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विन्दु सिम्खडा पुडासैनी, वडा नं.–१ का अध्यक्ष मुकुन्द गजुरेल लगायतले धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय सरकारका तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कागेश्वरी धाममा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन ठूलो मेला लाग्ने गर्छ । यस दिन यहाँ आई पूजा आराधना गरेमा कागको स्पर्शजन्य दोषबाट मुक्ति मिल्ने, मकै लगायत अन्नबाली चढाएमा बारीमा पसेर कागले नखाने लगायत जनविश्वास रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology