• Saturday 25th of July 2026

सैनामैनाका कृषकलाई मौरीका घार


  • गोकर्णेश्वर अनलाइन

रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ ।

मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० वटा घार वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा व्यावसायिकरुपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ किसानलाई दुई÷दुई वटाका दरले बिहीबार मौरीको घार प्रदान गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायत १७ वटा सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो ।

माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology