• Saturday 25th of July 2026

पर्यटकले भरिन थाल्यो ‘छिल्लीकोट’


  • गोकर्णेश्वर अनलाइन

दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ÷सौ-हौं शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताउनुभयो ।

“अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुई सडक प्रयोग गरेर पर्यटक आउने गर्छन्, त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुगिन्छ”, उहाँले भन्नुभयो, “अर्को छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सडक कालोपत्र भए झनै थामिनसक्नु भीड हुने देखिन्छ, अहिले पनि छिल्लीकोट आउनेको निकै भीड लाग्ने गरेको छ ।” अहिले पनि कहिलेकाँही दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको उहाँको भनाइ छ ।

अहिले छिल्लीकोटमा निर्माण भएको दृश्यावलोकन स्तम्भ, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्नेलगायतका हिमाल, दाङका फाँट, सल्यान, रोल्पा, रुकुमका पहाडी भेग, नेपालको एक मात्र ठाउँ छिल्लीकोटमा पाइने मल्लागिरीलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् ।

अहिले छिल्लीकोटले राज गरेको ठाउँमा एउटा मन्दिर र अर्को कालिका–मालिकादेवी भगवतीको मन्दिर निर्माण भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा सिँढी निर्माण गरिएको हो ।

त्यहाँ फाटफुट रुपमा स्थानीय खाना पाइने पसल पनि सञ्चालन भइरहेका छन् । घरबास सञ्चालनको तयारी पनि भइरहेको छ । “हामीले अहिले घरबास सञ्चालनका लागि तयारी पनि गरेका छौंँ, घरबास पनि दर्ता गरिसकेका छौं”, दृश्यावलोकन स्तम्भ निर्माण समितिका अध्यक्षसमेत रहनुभएका प्रवीर पुनले भन्नुभयो, “अहिले बजारबाट स्थानीय खाना खोज्दै पनि अवलोकनर्ता आउने गर्छन् ।”

त्यहाँ मादल बज्ने गुफा पनि भेटिएको छ । त्यो गुफा पनि अवलोकन गर्ने केन्द्रका रुपमा विकास भएको छ । मन्दिरमा धेरै मानिस भेला भएका बेला हावा फाल्ने गुफा पनि छ । त्यो पनि एउटा अवलोकन केन्द्रका रुपमा विकास भएको स्थानीयवासी ओमप्रकाश पुनले बताउनुभयो । अहिले त्यहाँ केबुलकार निर्माण पनि गरिने भएको छ । त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology