• Saturday 25th of July 2026

तङ्ग्रिँदै भकुण्डेको पर्यटन


  • गोकर्णेश्वर अनलाइन

सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । ‘सामुदायिक घरबासको गाउँ’ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् ।

बिहानै देखिने सूर्योदयको दृष्यदेखि सूर्यास्तसम्म क्षितिजमा देखिने मनमोहक दृष्यले पर्यटक लोभ्याउने गरेको छ । भकुण्डेमा दृष्यावलोकन स्तम्भ र घरबासको अनौठो संयोग छ । दृष्यावलोकन स्तम्भ पुग्न हिँडेका पर्यटकका लागि यहाँका घरबासले आधार दिन्छन् ।

गाउँ पुग्ने पर्यटकलाई यहाँका घरबास सञ्चालक स्वागत गर्न आतुर हुन्छन् । भकुण्डेका पुरानो अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापा त भकुण्डे पुग्ने जोकोहीलाई स्वागतमा पुग्नुहुन्छ । घरबास, स्थानीय उत्पादन र दृष्यावलोकन स्तम्भको संयोजनले चलायमान रहेको भकुण्डे पछिल्लो छ महिना सुनसान रह्यो ।

पाहुनाका लागि भनेर बनाइएको मूलाको सिन्की कामै नलाग्ने भयो । स्थानीय जातका कुखुरा बुढिएका छन् । कोदोका पिठोमा चिलेसा पर्ने बेला भइसक्यो । कोरोनाले देशका अन्य क्षेत्रमा जस्तै भकुण्डेका पर्यटनमा पनि प्रभाव पा-यो । “कहिले सजिलो होला जस्तो भयो, पाहुना डाक्न आतुर हुने हामीहरु कोही आउँदा पनि के हुन्छ जस्तो लाग्यो”, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो, “महामारीले चौपट बनायो ।” महामारी रोक्न गरिएको बन्दाबन्दी खुलेको लामो समयपछि भकुण्डेमा चहलपहल देखिन थालेको छ । घरबास सञ्चालककै बीचमा गण्डकी प्रदेश सरकारले भकुण्डेमा पुगेर कार्यशाला ग¥यो ।

आन्तरिक पर्यटक छिटपुट पुग्न थालेका छन् । दृष्यावलोकन स्तम्भ घुम्न जाने चिया र पानीका लागि मात्रै भए पनि घरबासमा पस्छन् । “हामीले अब पेशा नै यही हो भनेर लाग्यौँ, मान्छेलाई नै शङ्का गर्नुपर्ने अवस्था आएपछि व्यवसाय चौपट भयो”, घरबासका अध्यक्ष थापाले भन्नुभयोे, “अब फेरि भकुण्डे बौरिन्छ ।” यहाँका घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि घरबास खुल्ला गरेका छन् ।

दृष्यावलोकन स्तम्भ घुम्नका लागि सामाजिक दूरीको ख्याल गर्दै पुग्न आग्रह गर्छन् । “हामी बूढापाकाले मात्रै शुरु गरेको घरबासमा विस्तारै युवा आकर्षित हुँदै थिए, अहिलेसम्म धेरै परिवर्तन हुन्थ्यो”, उहाँ भन्नुहुन्छ “पाहुनाका लागि कोशेली र स्थानीय संस्कृतिको प्रदर्शन गर्ने तयारीलगायतका कामसमेत अल्झिए ।”

लामो समय एक घरबाट अर्को घर पुग्न नपाएका कारण पनि आपसी सल्लाह गर्न नपाएका उहाँको गुनासो थियो । भकुण्डेमा अब घरबास, स्थानीय खानाको स्वाद, दृष्यावलोकन स्तम्भ र सूर्योदय तथा सूर्यास्तको अलवा उद्यानकोसमेत प्रबन्ध हुँदैछ । दृष्यावलोकन स्तम्भ रहेको अघिपट्टिको टापुमा लखन थापाको शालिकसहितको उद्यान निर्माणको तयारी थालिएको छ ।

“हामीले पर्यटनमा भविष्य देखेका छौँ, यसलाई राम्रो व्यवसाय बनाउन चाहन्छौँ”, स्थानीय यामबहादुर थापा भन्नुहुन्छ, “भकुण्डे चिनारीसहितको घरबासको गाउँ हुन्छ ।” सरकारले घरबासको मापदण्ड तोकिदिएपछि भकुण्डेमा घरबास थपिनेक्रम शुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology