• Saturday 1st of August 2026

माघीको तयारीमा जुटे थारु समुदाय


  • गोकर्णेश्वर अनलाइन

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको धनगढी उपमहानगरपालिका–३ का स्थानीयवासी भगतबहादुर चौधरीेले बताउनुभयो ।

“माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायतका खानाका पकवानहरू खाने चलन रहिआएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छन्”, उहाँले भन्नुभयो । विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ ।

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका शहरबजार जान थालेका छन् । रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालेका छन् ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान पकाउन स्थानयवासी व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताउनुभयो । “माघे सङ्क्रान्तिका दिन विशेषगरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ” अगुवा चौधरीले भन्नुभयो, “आशिर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायतका खाद्यान्न छुने र छुट्याइएका ती चिजहरू घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।”

पश्चिम नेपालको तराईका थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा मनाइने यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । त्यस्तै माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी खासै गरिएको देखिँदैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology