• Friday 31st of July 2026

दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षामा सकस


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ ।

चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्लामा प्रहरीको दरबन्दी ३५० जनाको छ । तर हाल २४५ जना मात्रै कार्यरत छन् । १०५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौँदेखि खाली छ । जसकारण पर्याप्त सुरक्षाकर्मी खटाउन सकस भएपछि सुरक्षा चुनौती बढेको छ ।”

हत्या, हिंसा, चोरी, डकैतीका घटना दैनिक बढिरहेका छन् । न्यून जनशक्तिलाई ओभर टाइम ड्युटी गराएर शान्ति सुरक्षाका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिप्रकामा कार्यरत २४५ जनामध्ये १६५ जना सुरक्षाकर्मी जिल्लाभरिका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् । अहिले जिप्रकामा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ति सुरक्षा गरिरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाममा हजारौँको सङ््यामा हुने आन्दोलन प्रदर्शनलाई नियन्त्रण गर्न एक डेढ सय सुरक्षाकर्मी खटाउनुपर्छ । २० देखि ३० जना पठाएर भीड नियन्त्रण गर्नु, शान्ति सुरक्षा कायम गर्नु निकै सकस हुन्छ ।”

गाउँमा आगलागी, झैँ–झगडा भएको खण्डमा पनि सुरक्षा दिनसक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिँजा इलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताउनुभयो ।

अधिकांश चौकी भाडाकै घरमा

जिल्लाका अधिकांश प्रहरी चौकी भाडाकै घरमा छन् । जिल्लामा रहेका २७ प्रहरी चौकीमध्ये ११ वटामात्र आफ्नै कार्यालयबाट सेवा प्रवाह गरेका छन् । ६ वटा विभिन्न कार्यालयसँग सम्बन्धित छन् । १३ वटा चौकी भाडाकै घरमा बसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यहाँको ताम्ती, गोठिज्युला, उर्थुलगायत ९ चौकी तत्कालीन रुपमा स्थानीय सरकार, बजार व्यवस्थापन समितिबाट सञ्चालन भए पनि अधिकांश प्रहरी चौकीको आफ्नै भवन छैन् । वर्षौँदेखि भाडाकै घरमा बसेर पनि शान्तिसुरक्षामा खटिएका प्रहरी चौकीको आफ्नै भवन बनाउन आवश्यक पहल गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology