• Saturday 25th of July 2026

हाइकिङ र साइक्लिङको साझा गन्तव्य : वेगनास परिक्रमा पदमार्ग


  • गोकर्णेश्वर अनलाइन

लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङ्खुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।

कूल १६ किलोमिटर दूरी लामो यो पदमार्ग चार घण्टा समयावधिमा पार गर्न सकिने पर्यटन व्यवसायी एवम् होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जानकारी दिनुभयो । “यो पदमार्ग हाइकिङ एवं साइक्लिङ दुवैका लागि उपयुक्त छ”, उहाँले भन्नुभयो, “छोटो समयको पदयात्राका लागि साइक्लिङ गर्न चाहने जो कोही यस पदमार्गमा रमाउन सक्छन् ।”

पछिल्ला समयमा देशका विभिन्न ठाउँबाट पोखरा आउने पर्यटकले लेखनाथ क्षेत्रका ताल अवलोकन नगर्दासम्म आफ्नो यात्रा अपूरो ठान्ने गरेको बताउँदै थापाले माछाका परिकारको स्वाद लिनका लागि यहाँका माझी कुना, ड्यामसाइड, रुपातालको जमन कुनालगायत स्थान अधिकांशको रोजाइमा पर्ने गरेको जानकारी दिनुभयो ।

तालसहितको रमणीय दृश्य नियाल्दै पदयात्रा गर्न पाउने यो मार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताउनुभयो । स्थानीय जागरुकतासँगै बोर्डले यहाँको प्रवद्र्धनका लागि सहयोग गर्ने बताउँदै उहाँले वातावरणीय स्वच्छतालाई दृष्टिगत गर्दै पदमार्गमा निर्माण गरिने संरचना सकेसम्म स्थानीय सामग्रीको प्रयोग गर्नुपर्ने औँल्याउनुभयो ।

पदमार्गको प्रवद्र्धनलाई लक्ष गर्दै बोर्डको प्रवद्र्धन एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथको आयोजनामा हालै पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक पदयात्रा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology