• Friday 31st of July 2026

शववाहन नहुँदा अन्त्येष्टि समस्या


  • गोकर्णेश्वर अनलाइन

धवलागिरि अस्पतालमा बिहीबार मात्रै दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भयो । उनीहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालीगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो ।

शवबाहन नहुँदा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता रहेको छ । एम्बुलेन्समा शव र बिरामी बोक्न नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । अहिले सङ्क्रमित बोक्ने एम्बुलेन्सकै अभाव भइरहेको सन्दर्भमा शव व्यवस्थापनमा शवबाहनकै खाँचो देखिएको छ ।

एम्बुलेन्ससमेत पर्याप्त नभएको बागलुङमा हालसम्म शवबाहन छैन । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । उपचारतपछि सङ्क्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शवबाहन आवश्यक भए पनि एम्बुलेन्समा लैजाने गरिएको छ ।

शव व्यवस्थापनमा नेपाली सेना सक्रिय रहे पनि सेनासँग शवबाहन नहुँदा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था छ । एम्बुलेन्समा नै शव राखेर अन्तिम दाहसंस्कारका लागि लैजाने गर्दा सामान्य बिरामीले एम्बुलेन्स उपयोग गर्न पाउने छैनन् ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार शव व्यवस्थापनका लागि जिल्लामा एउटा शवबाहन अनिवार्य भएको बताउनुहुन्छ । कोरोनाको पहिलो लहरमा रेडक्रसको एम्बुलेन्समा नगरपालिकाले चालक व्यवस्थापन गरी शव तथा सङ्क्रमित बोक्दै आएकामा अहिले नगरपालिकाको चालकसमेत कोरोना सङ्क्रमित भइसकेपछि झनै समस्या भइरहेको छ ।

बागलुङमा शवबाहनका लागि नगरपालिकाले दुई वर्षदेखि खरिद गर्न थालेको भए पनि अहिले बल्ल खरिद प्रक्रियामा पुगेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामीले महामारीमा नभई अघिपछिका लागि खरिद गर्न थालेका थियौँ, यस बीचमा कोरोना महामारी आयो यसको झनै प्रभावकारी हुने देखेका छौँ, प्राविधिक कारणवश ढिला हुनपुग्यो, अहिले खरीद प्रक्रियामा छ, केही हप्तामा शवबाहन आउला”, नगरप्रमुख पौडेलले भन्नुभयो, “नगरपालिकाले खरिद गर्ने शवबाहन कोरोना सङ्क्रमितको शवलाई निःशुल्क व्यवस्थापन गर्नेछ ।”

शवबाहन नहुँदा भाडाका जिपले मनोमानी शुल्क लिँदै आएको स्थानीयवासीको भनाइ छ । विदेशमा मृत्यु भएको शव गाउँ पु¥याउँदा तथा अस्पतालबाट शव घाटसम्म ल्याउन जिप तथा भ्यानले रु २५ हजारभन्दा बढी रकम असुल्ने गरेको नगरप्रमुख पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology