• Friday 31st of July 2026

महोत्तरीमा १० दिन निषेधाज्ञा थप


  • गोकर्णेश्वर अनलाइन

पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शवबाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मानवीय क्षति बढेको हुँदा निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । जारी वैशाख १० गतेयता यसपालि सङ्क्रमण दोहोरिएर देखिन थालेको हो । जिल्लामा यही वैशाख महिनाभित्रै हालसम्म यो व्याधीले १३ जनाको ज्यान लिइसकेको छ । त्यसैगरी यसै अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । यस अवधिमा ४० जनाले कोभिड–१९ सङ्क्रमणलाई परास्त गरेर ठिक भएका छन् । यसअघि विसं २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुई हजार १४१ सङ्क्रमण पुष्टि भएका थिए । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो ।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ । पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो आदेशमा उल्लेख गर्नुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सिफारिशमा जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ । जिल्ला प्रशासनले परम्पराअनुसारका चाडबाड घरपरिवारभित्र मनाउन पनि अपिल गरेको छ ।

निषेधाज्ञा जेठ १५ गतेसम्म

डोटी– जिल्लामा कोरोना सङ्क्रमणको दर दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालले नयाँ खालको कोरोना भेरियन्टले दैनिक बिरामीको सङ्ख्या बढ्दै गएका कारण आफूहरूले लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म थप गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गएको छ, निषेधाज्ञा नगरे नियन्त्रण गर्न गाह्रो अवस्था आएकाले हामीले समय बढाएका हौँ ।”

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा विवाह, व्रतबन्धजस्ता कार्यक्रम होटल वा पार्टीप्यालेसमा समेत गर्न नपाइने जनाएको छ । यसैगरी दैनिक अत्यावश्यक खाद्यान्नलगायतका सामग्री खरिद गर्नका लागि बिहान ९ बजेसम्म दिइएको समय भने एक घण्टा थप गरी १० बजेसम्म पसल खोल्न पाइने नियम बनाइएको छ । जिल्लामा हालसम्म कम्तीमा पनि ४२१ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् भने कोरोनाका कारण पाँच जनाको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology