• Friday 31st of July 2026

सुकुम्बासीका नाममा सामुदायिक वनमा बनाइएका अवैध टहरा हटाइयो


  • गोकर्णेश्वर अनलाइन

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै गएका बेला कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कार्यबाहेक बाह्य क्षेत्रमा हिँडडुलसमेत गर्न बन्द गरिएको छ । निषेधाज्ञाका बेला कृष्णपुर नगरपालिका–२ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण शुरु गरिएको छ ।

सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ भन्दा बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन् । टहरा निर्माण गर्नेलाई त्यस क्षेत्रबाट शनिबार हटाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

“अवैधरूपमा सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काएका छौँ”, उहाँले भन्नुभयो, “टहरा निर्माण गर्नेहरूलाई सम्झाइबुझाई त्यस क्षेत्रबाट भगाइएको छ ।” तीन दिनअघि मात्रै कृष्णपुर–१ स्थित नवदुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका १०० भन्दा बढी व्यक्तिलाई सबडिभिजन वन कार्यालय वाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो ।

लागुऔषधसहित पक्राउ

बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकामा गस्तीका क्रममा सशस्त्र प्रहरीले २५ वर्षीय नरेश जोशीलाई हिजो साँझ सात ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागि जाँच गर्दा खैरो हिरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ ।

जोशीलाई मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबरको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन ट्रेड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लुबुकसहित बरामद गरिएको छ । बरामद लागुऔषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology