• Thursday 30th of July 2026

नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट–१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । बिहीबार बिहान १०ः३० बाट अवरुद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरुद्ध बनेको थियो ।

सडक विस्तारका क्रममा पुराना पुल भत्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो । पुलको उत्तरतर्फ रहेको पुरानो डाइभर्सनलाई मर्मत गरेपछि मात्रै दुईतर्फी सवारीसाधन सञ्चालन गराउन सकिने उहाँको भनाइ छ ।

नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारीसाधनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको चाप विस्तार घट्दै गएको छ । सडक अवरुद्ध हुँदा नवलपुर हुँदै पश्चिम जाने सवारीसाधन गैँडाकोट र पूर्वतर्फ जाने सवारीसाधन डण्डामा नै रोकिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology