• Monday 5th of October 2026

सुदूरपश्चिममा ३८ डिग्री तापक्रम, जनजीवन नराम्रोसँग प्रभावित


  • गोकर्णेश्वर अनलाइन

एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा गराउने बादल देखिँदैन । अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियसको हाराहारीमा छ ।

तापक्रम धेरै नभए पनि हावामा बढेको सापेक्षित आद्रताका कारण अत्यधिक गर्मी महसुस भएको हुन सक्ने स्थानीयवासी तेजराज भट्ट बताउनुहुन्छ । बढेको गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरका कोठामा समेत पङ्खाले तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको अर्का स्थानीयवासी जनक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी र मध्य नेपालका विभिन्न जिल्लामा भइरहेको वर्षाले विपद् निम्त्याइरहेको सुनिन्छ, हाम्रोतिर यहाँ वर्षाको अभावमा निम्तिएको सुक्खा खडेरीले सर्वसाधारण मारमा परेका छन् ।”

अत्यधिक गर्मीले काम गर्न सास्ती खेप्नु परेको अनुभव धनगढीका मजदूर कुँवरप्रसाद चौधरीले सुनाउनुभयो । “काम नगरी घरमा बस्दा पनि रातदिन शरीरमा पसिना आइरहँदा काम गर्न घरबाहिर जान सकिँदैन”, उहाँले भन्नुभयो । गर्मी छल्नका लागि कतिपय व्यक्ति चिसो मौसम रहेको कैलालीको चुरे पहाडी क्षेत्रको खानीडाँडा र सहजपुरसम्म पुग्ने थालेका छन् । राम्रोसँग वर्षा नहुँदा देखिएको सुक्खा मौसमका कारण रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको किसानको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology