• Monday 5th of October 2026

शनिबारदेखि मनसुन सक्रिय हुने


  • गोकर्णेश्वर अनलाइन

शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याइएको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २.२ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology