• Saturday 25th of July 2026

कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य


  • गोकर्णेश्वर अनलाइन

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताउनुभयो । नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।

उहाँले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताउनुभयो । “धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु प-यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरुलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।”

भिसा नवीकरण जारी

अध्यागमन कार्यालय काँकडभिट्टाले हाल भिसा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७/०७८ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा आधा कम हो । उहाँका अनुसार गत वर्ष कार्यालयले पर्यटक भिसाबापत रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो । कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालयप्रमुख कोइरालाले बताउनुभयो । उहाँका अनुसार कार्यालयले पर्यछक, नाता, वैवाहिक र एनआरएनलगायतका भिसाको नवीकरण गरिरहेको छ ।

कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो तर लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology