• Saturday 25th of July 2026

बेगनासका होटल खुले पनि त्रास कायमै


  • गोकर्णेश्वर अनलाइन

लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दाछिटो सबैलाई पुग्ने गरीे कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने माग यहाँका व्यवसायीको छ ।

“दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छांै”, बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो, “विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ ।”

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरु भएको बताइएको छ । कटौती गरी बाँकी रहेका एक दुईजना कर्मचारी र आफैले पनि पाउनालाई सेवा दिँदै आएको होटल व्यवसायी अधिकारीले बताउनुभयो ।

“घर भाडामा लिएर होटल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँं, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँं, तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ”, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भन्नुभयो, “सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ ।”

लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसियशनमा आवद्ध भने १०५ मात्र छन् । अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटलले यहाँ आउने पर्यटकलाई सेवा पु¥याउँदै आएका छन् ।

बेगनासस्थित न्यू थकाली भान्सा घरका सञ्चालक नीतेश लालचनले भन्नुभयो, “केही दिनदेखि दिउँसोको खाजा खानेगरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन् ।” बेगनासतालमा पाइने शहर, रहु, असला, नैनी, कमन, माहुर, तिलपिया बिगहेडलगायत जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका होटल व्यवसायी चित्रबहादुर गुरुङ बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology