• Thursday 30th of July 2026

हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क


  • गोकर्णेश्वर अनलाइन

सप्तरी, २५ साउन (रासस) : सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ । कार्टुनसँगै छेउमा स्यानिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएको छ । एउटा बट्टामा ठूला मानिसले र अर्को बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन् । मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन् । कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन् ।

निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन् । मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो । गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ ।

बजार निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारी साधनका यात्रुसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिकरूपमा ‘मास्क लगाएर जाऔँ’ अभियान सुरु गरिएको समग्र जनउत्थान केन्द्रका सुष्मा गुप्ताले बताउनुभयो । ‘सबैलाई मास्क लगाएर हिँड्न आग्रह गर्छौँ, मास्कको अभाव भए लगाएर जान भन्छौँ”, गुप्ता भन्नुहुन्छ, “कोही मान्छन्, कोही मान्दैनन् । कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हतपत्त निकालेर मुखमा लगाउँछन् ।”

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो । सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी ग¥यो । सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएपछि कोरोनाको त्रास कम भयो । मानिस प्रशस्त मात्रामा सडकमा हिँड्न लागे । विस्तारै मास्क लगाउन छाड्दै गए । स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापरर्वाही हुने सङ्केत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेध आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर मेसिन बिग्रिएकाले परीक्षण बन्द छ । एन्टिजेन परीक्षणको तथ्याङ्कले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । उहाँका अनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घर बाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिँड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन् ।

सबैभन्दा बढी सडकमा बिना काम हिँडिरहनेले लापरर्वाही गरिरहेका छन् । “मास्क लगाएर हिँड्नभन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिँड्छन्”, मास्क वितरण गरिरहनुभएका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भन्नुभयो, “कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन् ।” कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निःशुल्करूपमा मास्क प्रदान गर्न थालिएको उहाँले बताउनुभयो । दैनिक पसिना बगाउने र कोरोनाविरुद्धको सुई लगाएकाले मास्कको आवश्यक्ता नभएको बताउने पनि भेटिन्छन् । मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन् । पोखरेलले भन्नुभयो, “उहाँहरुलाई ‘मास्क एक महत्व अनेक’ भनेर सम्झाइबुझाई गर्ने गरेका छौँ ।”

सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका प्रिया सिंह थारुले बताउनुभयो ।

“मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौँ, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भनेर लेखेका छौँ”, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष ललिता कर्णले भन्नुभयो, “कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निःशुल्क लिएर जान्छन् ।” उहाँका अनुसार अभियानको उद्देश्य हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझुन् भन्ने हो ।

चोकमै रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँदैनन् । दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा “छिटो देऊ, गइहाल्छु”, भन्छन् । “न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराउनू भन्छन् बरु अर्को पसलमा जाने गरी धम्क्याउँछन्”, परवानाले भन्नुभयोे, “सबैका लागि भनेको हो तर उनीहरू उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु ।”

कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सबैलाई आयोजकले अनुरोध गर्ने गरेका छन् । कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरि नै चलाउनुपर्ने आवश्यक्ता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव माधवी शाहले बताउनुभयो । लकडाउन खुकुलो भए पनि कोरोना जोखिम नहटेकाले बजारमा भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गराउनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने शाहले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology