• Monday 5th of October 2026

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै


  • गोकर्णेश्वर अनलाइन

बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर गौरव शर्माको समन्वयमा मौसम पूर्वानुमानले दुई÷दुई दिनका बिचमा जिल्लाको मौसमसम्बन्धी जानकारी पठाउँदै आएको छ ।

उहाँले विभिन्न फेसबुक पेजमार्फत मौसमका जानकारी नागरिकलाई जानकारी गराउँदै आउनुभएको छ । उहाँले उच्च जोखिममा मौसम पूर्वानुमान हुँदा वडा तहको विपद् समितिलाईसमेत जानकारी गराउँदै आएको बताउनुहुन्छ । पूर्व जानकारीले मानवीय तथा भौतिक क्षतिमा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो एक महिनादेखि बागलुङ, ढोरपाटन, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाको मौसमसम्बन्धी जानकारी विभागले दिँदै आएको र नागरिकलाई सूचना जारी गर्न फेसबुकमार्फत आफूले जानकारी दिँदै आएको इञ्जिनीयर शर्माको भनाइ छ ।

आजको मौसमी प्रभावका आधारमा आगामी दुई दिनसम्मको मौसमसम्बन्धी जानकारी उपलब्ध गराइने र मौसम विभागलेसमेत जोखिम तालिकाका अनुसार नागरिकलाई सचेत गराउँदै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले इञ्जिनीयर शर्मालाई आवश्यक तालिम प्रदान गरे पश्चात् मौसमसम्बन्धी जानकारी दिन थालेको हो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा झरी पर्दा मात्रामा मानवीय तथा भौतिक क्षति पुग्ने भएकाले यसलाई कम गर्न पूर्व जानकारी दिन थालिएको हो ।

“मौसमसम्बन्धी जानकारीले मानवीय तथा भौतिक क्षतिलाई कम गर्छ, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइन्छ, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता ठूला सडकमा पहिरो खस्न सक्ने भएकाले पानी परेको अवस्थामा सकभर यात्रा नगर्न सुझाव दिइन्छ” उहाँले भन्नुभयो,“आज जिल्लामा भएको मौसमका आधारमा दुई दिनको मौसमी पूर्वानुमान गर्न सकिने प्रविधिका कारण जिल्लामा केही समययता सूचना दिन थालिएको छ, ठूला बाढीपहिरो आउन सक्ने विवरण भएमा वडा तहको विपद् समिति, प्रहरीलगायतलाई खबर गरी नागरिकलाई सचेत र सुरक्षित गर्न पहल र समन्वय गरिनेछ ।”

नगरपालिकाको विपद् व्यवस्थापन स्रोत व्यक्तिसमेत रहनुभएका उहाँले चार पालिकाको मौसमी अनुमानले जिल्लाभर काम गर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले चार पालिकालाई नै दुई दिन अगावै मौसमसम्बन्धी जानकारी दिँदै आएको छ ।

प्रभावमा आधारित मौसमी विवरणमा दुई दिनको अवधीमा मौसममा आएको प्रभावका कारण हुने अति न्यून, मध्यम र उच्च जोखिम देखाउने गरेको छ । जानकारीमा पानी पर्ने, नपर्ने, कम तथा बढी पर्ने, चट््याङको सम्भावनासमेत देखाउने गरेको छ । मौसमी विवरणमा सम्भावित घटना उल्लेख गरेकाले पूर्वानुमान प्रभावकारी बन्ने मौसम पूर्वानुमान महाखाको भनाइ छ ।

ढुङ्गा खस्न सक्ने, सडक अवरुद्ध हुनसक्ने, खहरेखोला बढेर क्षति गर्न सक्ने, विद्युतीय पोल ढल्न सक्ने, विद्युत् तथा इन्टरनेट अवरुद्ध हुनसक्ने, मध्यपहाडी र करिडोर अवरुद्ध हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology