• Saturday 25th of July 2026

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड


  • गोकर्णेश्वर अनलाइन

भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ ।

टाढा–टाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्क्रमणका कारण मेला स्थगन गर्ने निर्णय गरिए पनि सबै क्षेत्र खुलेको सूचनाले सोमबारदेखि नै टाढा–टाढाबाट भक्तजन आएका थिए ।

सोमबारदेखि नै मेला स्थगन गर्ने तयारी गरिए पनि गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भीड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको उहाँले बताउनुभयो । बिहान ४ बजेदेखि एक घण्टासम्म प्रहरीले सुरक्षा दिई भक्तजन फर्काउने प्रयास गरेको थियो । प्रयास असफल भएपछि स्वास्थ्य सुरक्षामा असर नगर्ने गरी भक्तजनलाई मन्दिर दर्शन गर्न दिइएको छ ।

दूरी कायम गर्न भीड बढ्न नदिन मन्दिर छिर्ने सबै नाकामा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना जोखिमकाबीच मेला चलाउँदा स्थानीयस्तरमा रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

बाबु दिवङ्गत भइसकेकाका सन्तति भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गरी सम्झना गर्ने परम्परा छ । आजका दिन गोकर्ण आई श्राद्ध गरेमा २१ कुलसम्मका पितृले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology