• Wednesday 29th of July 2026

सोह्रश्राद्धमा पुरोहितको अभाव


  • गोकर्णेश्वर अनलाइन

आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्यका लागि म्याग्दीमा भने पुरोहितको अभाव हुन थालेको छ ।

संस्कृत पढेका र शुद्धसँग मन्त्र उच्चारण गर्नसक्ने ब्राह्मणको अभावमा श्राद्धलगायत अन्य कर्मकाण्ड गर्न कठिन हुन थालेको छ । पुरोहितको अभावमा एउटैले सात÷आठ वटा श्राद्ध गर्नुपर्ने बाध्यता रहेको यहाँका पुरोहित बताउँछन् । एकै दिन एक ठाउँमा पुजिएका पुरोहित पितृकार्यका लागि अर्को ठाउँमा जान नहुने शास्त्रीय मान्यता रहे पनि काम चलाउन अन्य ठाउँमा समेत जानुपरेको उनीहरूकोे भनाइ छ ।
विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा श्राद्ध, पूजापाठलगयत कार्यका लागि ब्राह्मण अभाव हुन थालेको बेनी नगरपालिका– २ बगरफाँटका पुरोहित बेदप्रसाद उपाध्याय बताउनुहुन्छ ।

ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेतमा अपठेरो परेकाले स्थानीयवासी चिन्तित हुन थालेको उहाँको भनाइ छ । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचका कारण ब्राह्मणले संस्कृत पढन् छोडेकाले जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मणको अभाव हुन थालेको हो ।
जन्मेदेखि मृत्युसम्म बेद,उपनिषद, पुराण, रुद्रीलगायत ग्रन्थबमोजिम कर्म गर्नुपर्नेमा अहिले कर्मकाण्ड चलाउन नै पुरोहितको अभाव हुने गरेको ज्यामरुककोटका रामकृष्ण घिमिरे बताउनुहुन्छ ।“हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो” उहाँ भन्नहुन्छ, “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा श्राद्ध, विवाह, न्वारान, मृत्युसंस्कारजस्ता नगरी नहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।”

संस्कृत हिन्दूको जीवन पद्दतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकता नभएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुशी ‘धुपं समर्पयामी,नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा पनि सम्वत्सर, नक्षत्र र तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले देखेको पण्डित भीमनाथ पराजुली गुनासो गर्नुहुन्छ ।

“शुद्धसँग बेदका ऋचा उच्चारण गर्न नसक्ने र आचारणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा सबै ब्राह्मणको समेत बदनाम भएको छ” उहाँको भनाइ छ । अहिले संस्कृत पढेर भविष्य सुनिश्चित नहुने र कर्मकाण्डलाई व्यावसायिक गराउन नसकेकाले संस्कृतप्रति मानिसको उदासिनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक नारायण सुवेदी बताउनुहुन्छ ।

बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव हुन थालेको हो । अहिले जिल्लामा पुराण वाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गराउने पनि घट्दै गएको जिल्लास्थित ब्राह्मण समाजले जनाएको छ । सोह्रश्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिमा आफ्ना पितृको श्राद्ध गर्न ब्राह्मण नपाइएपछि छोरीचेलीलाई टीका लगाइदिएर कर्म पूरा गरेको बगरफाँटकी तिलु बानियाँको भनाइ छ । उहाँकै जस्तो समस्या यहाँ सयौँलाई परेको छ ।

लाहुरेको जिल्ला मानिने यहाँ कर्मकाण्ड गर्नसक्ने ब्राह्मण औँलामा गन्न सकिने मात्र रहेका र उनीहरु पनि अन्य पेशा व्यवसायमा संलग्न रहेकाले यो समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् ।श्राद्धलाई रुद्री तथा पूजापाठजस्तो जुराएर अर्को दिन गर्न नमिल्ने र तेकिएकै तिथिमा नै गर्नुपर्ने भएकाले पनि समस्या उत्पन्न हुने गरेको यहाँका बूढापाकाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology