सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तनहुँको भिमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत सिद्धगुफामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण गरिएको हो । धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोज स्थल र पार्किङस्थल निर्माण गरिएको सिद्धगुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिनुभयो । मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र स्थानीयवासीको सहयोगबाट उठेको रु १० लाख गरी कुल रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको उहाँले बताउनुभयो । समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।
समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय र पानीको दह निर्माण गरिसकेको छ । भ्रमण वर्ष सन् २०२० मा यस ठाउँमा करीब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले बताउनुभयो । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा पाँच सय जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।
जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भिमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ ।
