• Friday 24th of July 2026

हुम्डे विमानस्थलले पाएन निरन्तरता


  • गोकर्णेश्वर अनलाइन

मनाङ जिल्लाको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनः सञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुशी भएका मनाङवासी निरन्तर उडान नहुँदा निरास भएका छन् । पर्यटक भित्रिने समयमा मनाङमा हवाइ उडान सञ्चालन हुन नसक्दा पर्यटक आउन सकेका छैनन् । विमान सञ्चालन हुन सकेको भए विमानबाट आउने–जानेको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । विमानस्थल सञ्चालन नहुँदा मनाङ आउने पर्यटक वृद्धिमा टेवा पुग्ने भए पनि त्यस्तो हुन नसक्दा समस्या नै रहेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । उहाँका अनुसार कतिपय पर्यटक बिरामी परेर हेली चाटर गर्नु परेको छ । विमानस्थलमा निरन्तर उडान भर्न सक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ रहेको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताउँदै आएपनि सफल हुन सकेको छैन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार प्रदेश सरकार यस विमानस्थलमा नियमित उडान भर्ने तयारीमा रहेको छ ।

यस क्षेत्रमा उडान भर्न सक्ने एक मात्र विमान चालक रहेको र निजी कम्पनी उडान भर्न तयार नहुँदा ढिलाइ भएको मन्त्री लम्सालको भनाइ छ । उता मनाङका पर्यटन व्यवसायी भने आशै आशमा निरास बनेका छन् । “स्थानीय तहको पहलमा परीक्षण उडान सफल भएपछि अब मनाङले पर्यटन क्षेत्रको विकासमा फड्को मार्ने आशा बोकेका थियौँ, तर नियमित उडान नहुँदा निराशाबाहेक केही हुन सकेको छैन,” मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले भन्नुभयो । उहाँले भन्नुभयो, “पर्यटक आउँछन् केही बिरामी परेर फर्कन्छन् । सडक पनि गतिलो छैन हेलीकोप्टर चार्टर गर्न महँगो पर्छ । कमसेकम नियमित उडान भइदिए धेरैले समयमा उपचार पाउने थिए ।” विसं २०७९÷७० मा यस विमानस्थल कालोपत्र बने पनि कुनै उडान भने भएको थिएन । “२०७६ भदौ २७ गते परीक्षण उडान सफल भएपछि भने निकै आशा बोकेका मनाङवासीलाई हात्ती आयो हात्ती आयो फुस्साजस्तो भएको छ, सरकारको चासो पुगे मनाङवासीसँगै पर्यटकलाई सहज हुने थियो,” गुरुङले भन्नुभयो । गण्डकी प्रदेशले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न मनाङलाई विशेष रुपमा विकास गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology