• Friday 24th of July 2026

नेकपाले आइतबार उम्मेदवारकोे टुङ्गो लगाउने


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार समय अभावले आजको बैठकबाट उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो । बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ । “बैठकमा हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरेका छौँ, तिनमा छलफल शुरु भएको छ”, उहाँले भन्नुभयो, “भोलिको बैठकपछि उम्मेदवारको घोषणा गर्नेछौँ ।” पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको उहाँले जानकारी दिनुभयो । “उहाँ सिकिस्त भएको होइन, तर उहाँको स्वास्थ्यमा केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको केही स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ, त्यो प्रतिवेदन प्राप्त भएपछि उपचारका अरु माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ ।” प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डाइलासिसपछि सामान्य अवस्थामा काम गरिरहनुभएको छ । भोलि पुनःनेकपाको बैठक बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology