• Friday 24th of July 2026

चिन्तै चिन्तामा किसान


  • गोकर्णेश्वर अनलाइन

वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त कहिले उचित मूल्य पाइन्छ वा पाइँदैन भन्ने चिन्ता । नेपाली किसानको जीवन चिन्तै चिन्तामा बित्ने गरेको छ । यतिखेर भने चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके र कैलालीलगायतका किसानको खेतमा रोपाइँ गरिएको धानको बोटमा बाला लाग्न ढिला भएपछि थप चिन्ता बढेको छ । झन्डै १४ हजार हेक्टर जमीनमा रोपाइँ गरिएको गरिमा जातको धानका बोटमा बाला लाग्न ढिला भएको छ । कृषि विज्ञ डा रामवरण यादवका अनुसार किसानका खेतमा लगाइएको उक्त धान पाक्न अझै करीब एक महीना लाग्ने भएपछि धानको राष्ट्रिय उत्पादनमा कमी आउने देखिन्छ । भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट आयात गरी बिक्रीवितरण गरिएको उक्त जातको धानको बीउ किसानले प्रतिकेजी रु ४५० मा खरीद गरी रोपाइँ गरेका थिए । वर्णशङ्कर जातको सो धान सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि, लमही दाङ र प्रशान्त एग्रोभेट चितवनले खरीद गरी नेपालमा बिक्री वितरण गरेका हुन् ।

उन्नत जातका नाममा अनधिकृत कुजातको बीउ बिक्री वितरण गर्ने कम्पनीका ‘प्रोप्राइटर’लाई भने कानूनी कारवाही गर्ने दरिलो ऐन बन्न सकेको छैन । बीउबिजन ऐन, २०४५ ले अनधिकृत बीउ आयात गरी बिक्रीवितरण गर्ने कम्पनीलाई रु २५ हजार जरिवाना र आयात अनुमति पत्र खारेज गर्न सक्नेसम्मको प्रावधान तोकेको छ । हाल उक्त ऐन संशोधनका क्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा थन्किएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार यस वर्ष कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति दिएको र कम्पनीले ३४ टन खरीद गरेको भए पनि २३ टन मात्र बिक्री वितरण गरेको जनाएको छ । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका निर्देशक मदन थापाले एक हेक्टर जमीनमा १५ किलो धानको बीउ प्रयोग हुने गर्छ । यसरी हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धानको जातको बीउ रोपिएको निर्देशक थापाले जानकारी दिनुभयो । किसानलाई धानबाली पाक्ने आशामा झण्डै एक महिना पर्खनु पर्दाको पीडा एकातिर छँदैछ भने अर्कातिर हिउँदे बाली लगाउने समय गुज्रेला भन्ने चिन्ता छ । हिँउदमा गहुँ, तोरी, आलु, मसुरो, गोलभेँडा र अन्य हिँउदे तरकारी खेती गरिन्छ ।

धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका प्रमुख तथा सत्यतथ्य बुझ्न गठित समितिका संयोजक डा रामवरण यादवका अनुसार गरिमा धानको बीउ रोपेको १२० देखि १२५ दिनसम्ममा बाली भित्र्याउन सकिन्छ तर सो समयसम्ममा पनि भर्खर÷भर्खर बाला लाग्न थालेपछि किसान मर्कामा परेका छन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका निर्देशक थापा सबै किसानलाई क्षतिपूर्ति दिने हो भने झण्डै रु १३ करोड आवश्यक पर्ने बताउनुहुन्छ । कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामुकमारी चौधरीले अन्तिम सत्यतथ्यका आधारमा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध हुनुपर्ने जिकिर गर्नुहुन्छ । गरिमा धान भारतीय उत्पादन हो । यो धान विसं २०७२ मा सूचीकृत भई नेपालमा धान खेती हुँदै आएको थियो तर यस वर्ष भने भारतबाटै आयातित उक्त बीउमा गरिमाको गुण नरहेको कृषि प्राविधिकको भनाइ छ । बाली पाक्नुपर्ने निश्चित अवधिसम्म नपाकेपछि यस वर्ष धानबालीको राष्ट्रिय उत्पादनमा भने नकारात्मक प्रभाव पर्ने देखिएको छ । सरकारले आगामी ०७८÷७९ सालसम्ममा नेपाललाई धानमा आत्मनिर्भर बनाउने योजना अघि सारेको थियो ।

यस वर्ष भने गत वर्षको तुलनामा झण्डै दुईदेखि तीन प्रतिशतसम्म धानको उत्पादनमा गिरावट आउने धान विशेषज्ञ भोलामानसिंह बस्नेतले राससलाई बताउनुभयो । नेपालीका लागि कूल धानको आवश्यकता ६० लाख मेट्रिक टन हो । गत वर्ष झण्डै ५३ लाख मेट्रिक टन धानको उत्पादन भएको थियो भने यस वर्ष ५१ लाख मेट्रिक टनमा सीमित हुने विज्ञ बताउँछन् । मुख्यगरी ढिला वर्षा हुनु, तराईमा डुबान तथा कटान हुनु तथा समयमा मलखाद उपलब्ध हुन नसक्नु र सिँचाइको पर्याप्त सुविधा हुन नसक्नुले धानको उत्पादनमा गिरावट आउने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology