• Friday 24th of July 2026

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंंंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ ।” पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीको संरचनालाई सङ्घीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानूनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृह कार्य गरिरहेको जानकारी दिनुभयो । गृहमन्त्री थापाले सरकारले अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको बताउँदै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

दुई देशबीच धेरै विषयमा सहकार्य र सम्झौता भएको उल्लेख गर्दै उहाँले यसबाट नेपालको विकास र समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । गृहमन्त्री थापाले मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउँदै सरकारले अगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दामाथि पु¥याउने लक्ष्य राखेको उल्लेख गर्नुभयो । आगामी चार वर्षभित्रमा दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको पनि उहाँले बताउनुभयो । सोमबारदेखि शुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी हुनुभएको छ । यस्तै गाष्ठीमा प्रदेश नंं. ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology