• Friday 24th of July 2026

लिफ्ट सिँचाइले किसानको आय बढ्यो


  • गोकर्णेश्वर अनलाइन

तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ४६ वर्षीय पूर्णबहादुर चौधरीले तोरी, चना र केराउ खेतीबाट राम्रो आम्दानी लिन सफल हुनुभएको छ । “तीनवर्ष पहिले नौ बिघा जग्गामा तोरी चना र केराउखेती गर्दथेँ तर उत्पादन निकै कम हुन्थ्यो । लिफ्ट सिँचाइले गर्दा गतवर्ष सोही जमीनमा तोरी, चना र केराउखेती गर्दा त्यसबाट १० गुणा बढी उत्पादन भयो र त्यसबाट धेरै आम्दानी लिन सफल भएँ अहिले पनि खेती राम्रो भएकाले आम्दानी अझै बढी हुनेमा ढुक्क छु”, उहाँले भन्नुभयो । चौधरीले अहिले ९ बिघा जमीनमध्ये पाँच बिघामा तोरी र अन्यमा केराउ तथा चनाखेती गर्नुभएको छ । बेमौसममा सोही जग्गामा पुन : तरकारीखेती पनि गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।“कृषि पेशा अङ्गालेको छु राजनीति पनि गर्दछु अहिले निर्वाचित वडासदस्य पनि हूँ । घरपरिवाका सदस्यसँगै आफू पनि घरमा बिहान बेलुका काम गर्दछु । दिउँसो जनप्रतिनिधि भएकाले वडाको काममा व्यस्तहुन्छु”, चौधरीले भन्नुभयो । “गाउँ नजिकै बबई नदी भए पनि सिँचाइको अभावका कारण पहिला मुस्किलले एकै याममा मात्र खेती गरिन्थ्यो, आम्दानी पनि खासै नहुँदा परिवारलाई खानमात्र पुग्थ्यो तर अहिले लिफ्ट सिँचाइ आयोजनाले गर्दा सजिलो भएको छ ।

सिँचाइका लागि सौर्य उर्जा र विद्युत् दुवै जडान गरेका छौं, आम्दानी राम्रै भएकाले घरखर्च चलाएर कम्तीमा पनि वार्षिक सात लाखसम्म आम्दानी हुन्छ,’’ उहाँले भन्नुभयो । यसपटक त धान काट्ने र जोत्ने उपकरण समेत प्रदेश सरकारले दिएकाकाले खेती गर्न सहज हुनाका साथै उत्पादन पनि बढेको छ । पहिला वर्षमा एउटै मात्र खेती हुने मटेरिया गाउँमा अहिले बाह्रै महिना खेतीहुने भएकाले अहिले सो गाउँ पकेट तरकारीखेतीका रुपमा चिनिएको छ । सोही गाउँकी ४० वर्षीया अष्टुमी चौधरीले तोरी तथा तरकारी खेतीबाट आफू आत्मनिर्भर भएको बताउनभयो । यसपटक तीज, दशैं, तिहारको समयमा गोलभेडा, फूलकाउली र धनिया बिक्री गर्दा रु डेढ लाखसम्म आम्दानी भएको जानकारी दिँदै उहाँले तोरी तथा तरकारीखेतीबाट सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्न सफल भएको बताउनुभयो ।

सरकारले आफूहरुले उत्पादन गरेको तरकारी तथा तोरी, दालको मूल्य तोकिदिए राम्रो हुने अष्टुमीको भनाइ थियो । यी दुई मात्र होइन मेटेरा गाउँका १४० घर घुरीले लिफ्ट सिँचाइ योजनाबाट त्यहाँ तोरी, तरकारी, धानखेती गरिरहेका छन् । गाउँबाट नै बग्ने बबई नदीको पानीलाई करीब ६०० मिटर लामो रहेको लिफ्ट सिँचाइ आयोजनाबाट पानी तानिएको छ । सो पानी त्यहाँको करीब दुई सय बिघा जमीनमा सिँचाइ सुविधा पुगेकामा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिचाइका लागि प्रयोग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology