• Tuesday 8th of September 2026

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी


  • गोकर्णेश्वर अनलाइन

यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केसँगै दुई वर्ष अघि ‘स्याङ्जा एग्रो एण्ड रिसर्च सेन्टर’ दर्ता गरी भैँसीपालन व्यवसाय सञ्चालन थालिएको व्यवसायी हमालले बताउनुभयो । “फार्ममा दैनिक ४९० लिटरसम्म दूध उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रतिलिटर रू ९८ का दरले दैनिक रू ४८ हजार आम्दानी हुने र यहाँ उत्पादित दूध रानाभाट दूध डेरीमार्फत बिक्री वितरण हुने गरेको छ ।” दूध बिक्रीबाट मासिक रू बाह्र लाखभन्दा बढी आम्दानी हुने गरेको अर्का व्यवसायी हमालले बताउनुभयो । “दुई वर्ष अघि एक करोड ५० लाखको लगानीमा फार्म सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रू दुई करोड ५० लाख लगानी भएको छ । फार्ममा अहिले साना तथा ठूला गरी १७० वटा माउ तथा पाडापाडी छन् । फार्ममा हाल १४ जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।”

भैँसीका लागि आवश्यक पर्ने घाँस झण्डै १०० रोपनी जमीनमा नेपियरलगायत आधुनिक तथा विकासे घाँसखेती गरिएको अर्का व्यवसायी रेग्मीले बताउनुभयो । रोजगारीको सिलसिलामा जापान पुग्नुभएका उहाँले आफू स्वदेशमै सम्भावना देखेर फर्किएको जानकारी दिनुभयो । पाँच वर्ष मलेसियामा काम गरेर फर्कनुभएका ३२ वर्षीय हमालले विदेशमा बगाएको पसिना आफ्नै जन्मभूमिमा बगाउने सङ्कल्प गरेर स्वदेशमै भैँसीपालन व्यवसाय थालिएको उल्लेख गर्नुभयो । “स्वदेशमा अनगिन्ती सम्भावना छन् तर त्यो नदेखी पहिला राहदानी बनाउन दौडन्छौँ”, उहाँले भन्नुभयो, “विदेशमा बगाउने पसिना, त्यहाँ गर्ने कडा मेहनतलाई आफ्नै ठाउँमा उपयोग गर्नसके व्यक्तिगत तथा समाजका लागि पनि ठूलो उपलब्धि हुने भएकाले पहिला सम्भावनाको खोजी स्वदेशमै गर्न युवा साथीहरुलाई सुझाव दिन्छु ।”फार्मलाई यसै वर्ष गण्डकी प्रदेश सरकारले रु १२ लाख अनुदान रकम उपलब्ध गराएको थियो । स्थानीय सरकारको रुपमा रहेको पुतलीबजार नगरपालिकाबाट पनि हामीजस्तै अन्य युवाको प्रोत्साहनका लागि कार्यक्रम ल्याउनु आवश्यक रहेको व्यवसायी हमालको भनाइ थियो ।

“हामीले सञ्चालन गरेको फार्म अवलोकनका लागि स्याङ्जा तथा आसपासका जिल्लाबाट समेत दैनिक दुई÷तीन व्यवसायीको टोली आउने गर्छन्”, उहाँले भन्नुभयो, “उहाँहरुका फार्म सञ्चालनका जिज्ञासा मेटाएर पठाउँछौँ । यहाँ अवलोकन गरेर फर्केपछि कतिपय युवाले त फार्म सञ्चालन गर्न शुरु गरिसकेका छन् ।” भैँसीपालन गर्ने सपनासहित विदेशबाट फर्केर थालनी गरेको यो व्यवसाय सफल हुँदै जाँदा सपना साकार भएकाले अहिले आफूहरु पूर्ण सन्तुष्ट रहेको व्यवसायी हमालको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology