• Tuesday 8th of September 2026

सरकार समृद्धितर्फ उन्मुख छ : नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकार समृद्धि ल्याउन लागिपरेको बताउनुभएको छ । ओखलढुङ्गाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुखसमेत रहनुभएका पौडेलले वर्तमान सरकार विगतका अधुरा योजना सफल बनाउँदै दीर्घकालीन योजना ल्याउने काममा लागेको बताउनुभएको हो । विगतमा सरकार मात्रै परिवर्तन हुने भए पनि सङ्घीयतापछि व्यवस्था नै परिवर्तन भएकाले सरकार नतिजा देखाउने गरी काममा जुटेको उहाँको भनाइ थियो । “विगतमा सरकार मात्रै परिवर्तन हुन्थ्यो, एउटा पार्टी र पात्र मात्रै फेरिन्थे । अहिलेको सरकार त्यस्तो होइन, व्यवस्थानै फरिएपछिको सरकार हामीले चलाइरहेका छौँ”, पौडेलले भन्नुभयो, “राजनीतिक अस्थिरतासहितका अनेकौँ कारण देश दशकौँंपछि परेको जस अपजस वर्तमान सरकारले लिएको छ । त्यो बेलादेखिका अवरुद्ध योजना समेट्दै भावी पुस्ताका लागिसमेत योजना तय गरिरहेको छ ।” नेता पौडेलले वर्तमान सरकार चुनावी वाचा पूरा गर्दै समृद्धिका लागि सबै पक्षसँग समन्वयमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा अब कम्युनिष्टको विकल्प नभएकोसमेत जिकिर गर्नुभयो । वर्तमान सरकारले शुरु गरेका योजना र सपना अरु कसैले पूरा गर्न नसक्ने भएकाले जनताले नेकपालाई सधँै देश बनाउने जिम्मेवारी दिने उहाँको भनाइ थियो । विपक्षी दल सरकारको कामको विरोध गरेर आफ्नो अस्तित्व बचाउन लागि परेको उहाँले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभागका अर्का उपप्रमुख डा बेदुराम भुसालले सबै मिलेर समृिद्धको बाटोतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपाको राष्ट्रिय नीति र सरकारी कार्यक्रम सफल बनाउन सबै कार्यकर्ता जुट्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा केन्द्रिय स्कुल विभागका उपप्रमुखद्वय पौडेल र डा भुसालले पार्टीको सङ्गठन विस्तार र माक्र्सवादी सिद्धान्तको बारेमा सहभागीलाई प्रशिक्षण दिनुभएको नेकपा गाउँपालिका कमिटी अध्यक्ष प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पालिकास्तरीय अगुवा कार्यककर्ताको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । प्रशिक्षण कार्यक्रममा सांसद् यज्ञराज सुनुवार, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद मोहन खड्का, पूर्व सांसद बालकृष्ण ढुङ्गेल, नेकपा आमन्त्रित स्थायी कमिटी सदस्य पेशलकुमार खतिवडा, नेकपा प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी, बाबुराम गौतम, नेकपा केन्द्रीय सदस्य किशोर अधिकारी, खड्ग योगीलगायत गाउँपालिकाका नेकपा नेता तथा कार्यकर्ताको सहभागिता थियो

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology