• Friday 24th of July 2026

आलेख : एउटै वडामा अढाई करोडको केराखेती


  • गोकर्णेश्वर अनलाइन

– चन्द्रकला भण्डारी भद्रपुर, २४ कात्तिक (रासस) : खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकाँश बासिन्दा केराखेतीमा जुटेका छन् । मिक्लाजुङको वडा नं ५ मा जोगिटार, बेलटार, गुप्तीटार, लिङ्गेटार, खोलीटार, आँपटार, ठूलो सामलिङ, सानो सामलिङ, धानखेती र लालवस्ती नामका १० वटा गाउँ छन् । पाँच सय परिवारको बसोबास रहेको ती गाउँका हरेक घरमा कम्तीमा ५० देखि ४०० झ्याङसम्म केराको बगान छ । एक झ्याङमा तीन वटा बोट हुने र खरिदकर्ताहरुले बगानमै आएर प्रतिघरी रु ३५० सम्ममा किन्ने गरेकोवासी स्थानीय मिलन राई बताउनुहुन्छ । उहाँका अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै केराखेती हो । “नगदेबाली भएकाले खरिदकर्ताले बगानमै आएर माल उठाउँछन् र दाम पनि हातहातै दिन्छन्,” ७० झ्याङ केराखेती गर्दै आउनुभएका राई बताउनुहुन्छ ।

राई, लिम्बु, बाहुन, क्षेत्री, मगरलगायतका समुदायको बसोबास रहेको यो वडा पुग्न पूर्व–पश्चिम राजमार्गको मङ्गलबारे, पथरी र कानेपोखरीबाट मोटरबाटो बनेको छ । व्यापारीहरुले यहाँ उत्पादित केरा किसानबाट किनेर सिधै काठमाडौँ पुरयाउने गरेका छन् । वडाकै धेरै केराखेती गर्ने किसान धनबहादुर राईको केरा बगानमा ४०० झ्याङ छन् । उहाँ केराखेतीबाट वर्षमा रु चार लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । “चामल किनेर भात खान्छौं, नानीहरु पढाउँछौं, दुःख बिमार हुँदा खर्च गर्छौं,” केराखेतीको आम्दानीले घरको सबै गर्जो टार्ने गरेको बताउने ६६ वर्षीय राई भन्नुहुन्छ । उहाँका अनुसार स्थानीय बासिन्दाले भोटाङे जातको केराखेती गर्दै आएका छन् । चिनीचम्पा, मालभोग, जहाजी लगायतका केराका बोटहरु यहाँ थोरै छन् । भोटाङे केराको बिरुवाले एक वर्षमै फल दिने गरेको र एउटा वयस्क बोटले कम्तीमा चार वटा नयाँ बिरुवा उमार्ने गरेको राई बताउनुहुन्छ । मिक्लाजुङ तराईको मोरङ जिल्लामा परे तापनि यहाँको भौगोलिक बनोट पूरै पहाडको छ । भिरालो र उर्बर जग्गा भएकाले यस क्षेत्रमा केराखेती फस्टाएको हो तर, यहाँका अधिकांश केराखेती परम्परागत ढङ्गले गरिएको छ ।

आधुनिक विधि, मलबीउ र स्याहार नअपनाई किसानहरुले आफ्नै परम्परागत ज्ञान, श्रम र शीपका आधारमा खेती गरिरहेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नं ५ का वडासचिव हरिप्रसाद कोइरालाले परम्परागत रुपमा भइरहेको केराखेतीलाई आधुनिक प्रणालीमा बदल्न स्थानीय सरकारले यो वडालाई केरा र सुपारी खेतीको पकेट क्षेत्र घोषणा गरिसकेको बताउनुभयो । चालु आर्थिक वर्षमा केराखेती पकेट क्षेत्रका लागि रु ५ लाख बजेट विनियोजन भइसकेको छ । “कसैले अ¥हाएर वा कुनै अध्ययन भएर होइन, गाउँलेहरु आफैंले निर्वाहका लागि केराखेती थाल्नुभएको रहेछ,” केराखेतीको विकासबारे वडासचिव कोइराला भन्नुहुन्छ – “हरेक घरमा सय पचास झ्याङ केराखेती छ । अब वडा कार्यालयले उहाँहरुलाई व्यावसायिक बनाउन मद्दत गर्ने कार्यक्रम ल्याउँदैछ ।” वडाका अध्यक्ष रुद्र लिङदेनले आफ्नो वडाको सबै गाउँ केराखेतीका लागि उर्बर रहेको पहिचान भइसकेको हुँदा किसानहरुलाई आधुनिक खेतीका लागि तालीम, बीउ र अनुदान दिएर प्रोत्साहन दिने वडा कार्यालयको योजना रहेको बताउनुभयो । सिँचाइको असुविधा भएको हुँदा यो क्षेत्रमा धान र अन्य बाली मासेर किसानहरुले केराखेती विस्तार गरिरहेका छन् ।

बिचौलिया खरिदकर्ताहरुले सस्तोमा किनेर लैजाने गरेको कारण खास किसानहरुले आफ्नो श्रम र लगानीको आधारमा मूल्य कम पाउने गरेका छन् । “ठूलो घरी छ भने एउटाको रु ३५० सम्म दिन्छन्, नत्र सानो घरीको अढाई सय मात्र दिन्छन्,” एक सय झ्याङ केराखेती गरिरहनु भएका स्थानीयवासी रमेश भण्डारी भन्नुहुन्छ – “त्यही एउटा घरी राजमार्गको मङ्गलबारे बजार पुग्दा रु ८०० हुन्छ भने काठमाडौँ पुग्दा रु एक हजार ५०० हुँदोरहेछ ।” किटनाशक औषधि र रासायनिक मलको प्रयोग नभएको हुँदा यहाँको केराखेती पूर्णरुपमा जैविक मानिएको छ । सरकारबाट कुनै तालीम र अनुदान नपाएको बताउने किसान धनबहादुर राईले हालै केराखेतीमा गबारो र कालो छिर्के रोग देखा परेको बताउनुभयो । यहाँ दशैं, तिहार, छठ र तीज पर्वका बेला केरा किन्न आउने व्यापारीहरुको भीड नै लाग्ने गरेको छ । प्राकृतिक रुपमा मनमोहक मिक्लाजुङका यी गाउँहरुमा मौलाइरहेको केराखेती अध्ययन र अनुसन्धानका लागि नमुना बन्न सक्छन् । नजीक रहेको कोलुङ झरना र जैविक खान्कीका कारण यहाँ घरबास पर्यटन समेत फस्टाउने प्रशस्त सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology