• Friday 24th of July 2026

‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’


  • गोकर्णेश्वर अनलाइन

नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन् २०१९ ले पोखरा आउने पर्यटकलाई गण्डकी प्रदेशका अरु पर्यटकीयस्थलमा पु¥याउने प्रयत्न गर्नेछ । “पोखराको फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ–गाउँमा पुग्छ”, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भन्नुभयोे, “गाउँमा अथाह सम्भावना छ, हामी पर्यटकलाई गाउँ ल्याएरै छोड्छौँ ।” बागलुङको ताराखोलामा भुस पोल्ने मेलामा पुग्नुभएका मन्त्री लम्सालले अब नेपाल आउने पर्यटक पोखरामा मात्रै नभई गाउँ–गाउँमा पु¥याउनु पर्ने बताउनुभयो । “प्रकृति र संस्कृति हेर्न नेपालमा पर्यटक आउँछन्, यसमा हामी धनी छौँ”, लम्सालले भन्नुभयोे “हाम्रो संस्कृति गाउँमा छ, कृत्रिम शहरमा पर्यटक अल्झेका छन् ।” कृत्रिम शहरमा अल्झेका पर्यटकलाई गाउँको प्रकृति र संस्कृतिसँग जोड्न गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालयले भरपुर प्रयास गरिरहेको मन्त्री लम्सासले बताउनुभयो ।

“पर्यटन क्षेत्रलाई चाहिने ऊर्जा एउटा सर्त हो, अब गाउँमा ऊर्जाको अभाव हुँदैन, घरबासमा चाहिने बिजुली गाउँमै निकाल्छौँ, पानीको अभाव भएका ठाउँमा सौर्य ऊर्जा जोड्छौँ”, लम्साल भन्नुभयो, “अब हाम्रो आर्थिक समृद्धि गाउँबाटै हुन्छ ।” ऐतिहासिक महत्व बोकेका संस्कृति र सम्पदाको संरक्षणमा गण्डकी सरकार सधैँ तत्पर रहेको मन्त्री लम्सालले जिकिर गर्नुभयो । “हाम्रा पाहुना राख्ने ठाउँ घरबास हो” लम्सालले भन्नुभया,“‘उपयुक्त गाउँहरुमा घरबास सञ्चालन गरेर गण्डकीमा घरबासको सङ्ख्या तीन सय पु¥याउँछौँ ।” कृषि पर्यटन र संकृतिको प्रचारप्रसार नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको मन्त्री लम्सालले बताउनुभयो ।

अर्गल खेलकूद विकास मञ्चले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले इतिहास र संस्कृति राज्यको सम्पत्ति भएको भन्दै संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह गुरुङ, गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र स्थानीय सूर्य थापालगायतले बोल्नुभएको थियो । गुल्मीको धुरकोट, बागलुङको ताराखोला र तनहुँको बन्दीपुर नगरपालिकाले मेतेरी सम्बन्ध कायम गरेका छन् । एक अर्काका बीचमा भाइचारा, अनुभव आदानप्रदान र पर्यटनमा सघाउनका लागि तीन पालिकाका बीचमा मितेरी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । तीन तिरका तीन पालिकाको मितेरी सम्बन्धले गाउँमा पर्यटक भित्र्याउन सहयोग गर्ने अध्यक्ष घर्तीको विश्वास छ । ताराखोला गाउँपालिकाको अर्गलमा भुस पोल्ने पर्व विशेष पर्वका रूपमा मनाइन्छ । भुस पोल्ने पर्वका अवसरमा ताराखोला गाउँपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology