• Friday 24th of July 2026

पर्वतमा उत्पादित मकैको सातु युरोप र अमेरिकामा


  • गोकर्णेश्वर अनलाइन

पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराई सक्यो । विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप र अमेरिकामा लोकप्रिय बनेको छ । पर्वतको फलेवास नगरपालिकामा तयार गरिएको त्यही सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार पार्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरेका छन् । “गाउँघरमा सातु भनेर हेला गर्छन्”, उद्यमी भुसालले भन्नुभयो, “शहर बजार र विदेशमा सातुको माग धेरै आएको छ ।” भुसालले मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरेको छ । तयारी खाजाले स्वास्थ्यमा असर गर्ने भए पनि सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्यमी भुसाल बताउनुहुन्छ ।

लप्सी, अदुवा र सितलचिनी प्रशोधन गरेर बेच्दै आएको उद्योगले सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ । यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेन्टलले खरीद गर्छन् । कोसेलीका रुपमा काठमाडौँ, पोखरालगायत देशका विभिन्न स्थानमा समेत पुग्न थालेको छ । गाउँघरमा नै उत्पादित अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेको पाइएको छ । पछिल्लो समय सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाका लागि पनि लैजाने गरिएको छ । उद्यमी भुसालले यसअघि पर्वतको वनपाखामा पाइने लप्सी प्रशोधन गरेर अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा बिक्री गर्दै आउनुभएको थियो । लप्सीका परिकार मौषमी भएका कारण बाह्रै महिना उद्योग चलाउन सातु उत्पादन गर्न थालिएको छ । उद्योगको क्षमता विस्तार गर्न र थप स्थानीय उत्पादन प्रवद्र्धन गर्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु सात लाख ६० हजार आर्थिक सहयोग गरेको थियो ।

“गाउँघरमा उत्पादन हुने अन्न खेर फालेर जङ्कफुडको प्रयोग बढेको छ”, उद्यमी भुसालले भन्नुभयो, “त्यसको विकल्पमा यसलाई प्रयोगमा ल्याउने गरी उद्योग विस्तार गरेको हुँ ।” गाउँमै उत्पादित मकैको मूल्य प्रतिकिलो रु ४० पर्छ । चार वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि फलेबासमा मकै जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोन कार्यालय सञ्चालनपछि उत्पादन दोब्बर बढाएका किसानले घरबाटै राम्रो मूल्य पाएकोमा खुशी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology