• Friday 24th of July 2026

उपनिर्वाचन २०७६ : क्षमतावान उम्मेदवारलाई जिताउन आग्रह


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेर मन्त्री बन्ने क्षमता भएको उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभएको छ । निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलोअन्तर्गत आयोजित कोणसभामा उहाँले नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचन जितेपछि मन्त्री बन्ने भएकाले विकासका लागि उहाँलाई मत दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तीन वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । त्यसैले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गरौँ ।” पूर्वमन्त्रीसमेत रहनुभएका नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने कानून बनाउनका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व रवीन्द्र अधिकारीका बाँकी रहेका अभिभारा र प्रतिबद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताले अघिल्लो निर्वाचनमा पाँच वर्षका लागि अभिमत दिए पनि अकल्पनीय घटनाबाट पुनः चुनावमा आउनुपरेको भन्दै उहाँले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट पार्नुभयो । गोर्खा मेजर चन्द्रबहादुर पुनले वर्तमान सरकार आएपछि मात्र देशले विकासको लय समातेको बताउँदै वृद्धवृृद्धा, असहाय र अशक्तलाई हेर्ने पार्टीलाई जिताउन आग्रह गर्नुभएको थियो । घरदैलोअन्तर्गत नेकपाका नेता कार्यकर्ताले वडाका फूलबारी, मणिपाल, धरहरामार्गअन्तर्गतका टोलहरुमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology