• Saturday 25th of July 2026

उपनिर्वाचन : आदर्श गाउँपालिकामा नेकपा र काँग्रेसको प्रतिस्पर्धा


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको आदर्श गाउँपालिकामा चुनावी माहोल तातेसँगै नेता–कार्यकर्तालाई भोट माग्न भ्याईनभ्याई हुन थालेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका–२ मा चुनावी चहलपहल बढ्न थालेको हो । गत वर्ष तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जिप दुर्घटनामा मृत्यु भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसबाट महादेव साउद र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । दिवंगत बोहरा नेकपाका हुनुहुन्थ्यो । सबै उम्मेदवारले जनताको विकासमा समर्पित हुने प्रतिबद्धता गर्दै आएका छन् । भोट माग्नका लागि अहिले उम्मेदवार किसानका खेतबारी तथा घर–घरमा पुग्न थालेका छन् । निर्वाचनमा मुख्यगरी नेकपाका उम्मेदवार बोहरा र काङ्ग्रेसका उम्मेदवार साउदबीच बढी प्रतिस्पर्धा बढी देखिएको छ । स्थानीय हरि खड्काले भन्नुभयो, “भोट माग्न सबै उम्मेदवार आए पनि नेकपा र काङ्ग्रेस उम्मेदवारबीच बढी प्रतिस्पर्धा हुने देखिन्छ, आफ्ना नेता जिताउन ती पार्टीका जिल्लादेखि केन्द्रीय स्तरसम्मका नेता भोट माग्न व्यस्त छन् ।” वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलो कार्यक्रममा जोड दिएका छन् ।

उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विषेश पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका स्थानीयवासी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेदवारहरु स्थानीयवासीका लागि विकास गर्ने भन्दै भोट माग्न गाउँ–गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।” नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको निकै सारगर्मी बढेको स्थानीयवासी बताउँछन् । यति मात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीयवासी टेकबहादुर खड्काले बताउनुभयो । वडामा कूल दुई हजार ५०० मतादाता छन् । मतदातालाई आ–आफ्ना उम्मेदवारका पक्षमा मत माग्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत लागिपरेका छन् । “उक्त वडाको निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ, हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौँ”, नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले भन्नुभयो, “सबैले ढुक्क भए हुन्छ, यो निर्वाचन हामी जित्छौँ ।” काङ्ग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले आफ्नो पार्टीले भारी मतले जित्ने उल्लेख गर्दै भन्नुभयो, “जनता काङ्ग्रेसको पक्षमा छन्, यसपालिको चुनाव हामी भारी मतले जित्छौँ ।”

स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार भएका खड्काले जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर सरकारमा गइसकेपछि गाउँ फर्केर कहिल्यै नआउने नेतासँग समयमै सचेत रहन आग्रह गर्दै आउनुभएको छ । उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश प्रहरी गुल्मबाट थप सुरक्षाकर्मी झिकाइ उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । निर्वाचनका लागि सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology